Connect with us
Kapilvast Forest

शपथको व्यहोराबाट हटाइयो ‘प्रतिज्ञा गर्दछु’, औपचारिक पोशाक अनिवार्य

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौँ – सार्वजनिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा अबदेखि शपथ लिने र सपथ गराउने व्यक्तिले अनिवार्य रुपमा ‘औपचारिक पोशाक’ लगाउनु पर्ने भएको छ ।

यस्तै शपथ लिँदाको व्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्दछु’ शब्दलाई पनि हटाइएको छ । शपथ ग्रहण मातृभाषामा पनि गर्न पाइने छ । तर, शपथ लिनुअगावै त्यसको जानकारी शपथ गराउने निकायमा गराउनु पर्ने छ । शपथ ग्रहणका बेला उच्चारण गरिने अन्य केही वाक्य पनि हेरफेर गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिदा ‘प्रतिज्ञा’ भन्ने वाक्य छुटाएका थिए । दोहोर्‍याएर राष्ट्रपति भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ उच्चारण गर्न लगाएपनि ओलीले ‘त्यो पर्दैन’ भनेर पन्छिएका थिए । जुन विषय सामाजिक सञ्जालमा ‘त्यो पर्दैन’ उल्लेख गरेर ‘ट्रोल’ बनेको छ ।

त्यसपछि शपथ ग्रहण नै विवादमा तानिएको थियो । कतिपयले प्रधानमन्त्रीले राष्ट्रपतिबाट पुनस् शपथ लिनुपर्ने पनि सुझाव दिएका थिए । तर, त्यसको एक सातापछि बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले गरेको त्रुटिलाई नै जायज ठहर्‍याउने गरी शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो । मन्त्रिपरिषद्को सिफारिसबमोजिम जारी ‘शपथ सम्बन्धी अध्यादेश–२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएका शपथको व्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ ।

राष्ट्रपतिबाट बिहीबार नै शपथसम्बन्धी अध्यादेश प्रमाणीकरण भए पनि शुबmबार मात्रै राजपत्रमा प्रकाशित भएको छ । जारी अध्यादेश अनुसार शपथ लिँदा र गराउदा नेपाली भाषाका अलावा मातृ भाषामा पनि लिन पाइनेछ । शपथ लिन र गराउन औपचारिक पोशाक अनिवार्य गरिएको छ । तर, संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकमा पनि शपथ लिन सकिने उल्लेख छ । अध्यादेशमा औपचारिक पोशाकको परिभाषा भने गरिएको छैन ।

तर, यसअघि वैशाख १ गते विभूषण वितरण समारोहमा उपस्थित हुनका लागि गृह मन्त्रालयले जारी गरेको सूचनामा ‘औपचारिक पोशाक’लाई पुरुषको हकमा लवेदारसुरुवाल र महिलालाई सारीरचोलो भनेर व्याख्या गरिएको छ । शपथसम्बन्धी अध्यादेशमा उल्लेखित औपचारिक पोशाक भनेर पुरुषका लागि लवेदारसुरुवाल, टोपी र महिलाका लागि सारीरचोलोलाई नै भनिएको एक मन्त्रीले जानकारी दिनु भयो । ‘औपचारिक पोशाक भनेको पुरुषका लागि लवेदारसुरुवाल र टोपी तथा महिलाको आम सारी चोलो नै हो, यसमा कोही अलमलिनु पर्दैन,’ मन्त्रीले भन्नु भयो , ‘तर, नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएका कारण संस्कृति, परम्परा वा पहिचान झल्किने पोशाकलाई पनि शपथ ग्रहणका बेला लगाउन पाइने छ ।’

यसअघिको शपथको व्यहोरामा ‘सम्बन्धित पदको कामकाज प्रचलित कानुनको अधीनमा रही’ भन्ने थियो । नयाँ अध्यादेशमा ‘अधीनमा रही’ भने शव्द हटाएर ‘प्रचलित कानुनको पालना गरी’ भन्ने वाक्य थपिएको छ । त्यस्तै ‘मुलुक र जनताको सोझो चिताई’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताई’ भन्ने थपिएको छ ।

शपथसम्बन्धमा व्यवस्थापन गर्न बनेको अध्यादेशको पूर्ण पाठ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu