तिनै चार मान्छेको स्वार्थले देश अस्तव्यस्त : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले नाम नतोकिकन ‘चारजनाका कारण देश अस्तव्यस्त भएको’ टिप्पणी गर्नु भएको छ
‘चार पटक प्रधानमन्त्री भएका, पार्टीको सभापति भइसकेका, ७० वर्ष कटिसकेका मानिसहरुले अस्तव्यस्त बनाएको उहाँले भन्नुभयो ,,’ उहाँहरुलाई आफ्नो अहम्, आफ्नो इगोको चिन्ता छ, देशको होइन ।’ उहाँहरुमा अतृप्त भोक, कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै प्यास नमेटिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश बिग्रिनुको मुख्य कारण यही नै रहेको दावी गर्नु भयो ।
‘यो त सत्ता स्वार्थ मात्र हो,’ उहाँले भन्नुभयो ‘सत्ता नपाएकाको होइन, पाइसकेकाहरु नै सधैँभरी सत्ता स्वार्थमा केन्द्रित रहे ।’ उहाँले लोकतान्त्रिक बाटोबाट हिँडेर गए पनि सत्तामा पुग्न सकिने भन्दै असंवैधानिक, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियाबाट जान खोजेका कारण समस्या देखिएको बताउनुभयो ।
यसप्रति युवापङ्ति सजग हुनुपर्ने उहाँले बताउनुभयो । युवाहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो , ‘काँधमा अभिभारा बोकेर अघि बढ्न तयारी गर्नुस् । देशको वातावरण बिगार्न र निराशा पैदा हुन नदिनुस् ।’