बैंकको निषेधाज्ञा कर्जा थपियो, निक्षेप बढेन
काठमाडौं – मुलुकका विभिन्न ठाउँमा निषेधाज्ञा भए पनि वाणिज्य बैंकहरूले जसोतसो कर्जा प्रवाहमा थप वृद्धि गरिरहेका छन् तर निक्षेप संकलन भने बढाउन सकेका छैनन् । जेठको दोस्रो साता २७ ओटा वाणिज्य बैंकले करीब १० अर्ब रुपैयाँले कर्जा वृद्धि गर्दा कुल कर्जा प्रवाह रू। ३६ खर्ब २६ अर्ब पुगेको छ । तर यस अवधिमा निक्षेप संकलन भने ५ अर्ब रुपैयाँले घटेर कुल निक्षेप रू। ३९ खर्ब ५६ अर्बमा सीमित हुन पुगेको छ । यसअघि अर्थात जेठ पहिलो साता कुल निक्षेप ३९ खर्ब ६१ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
निक्षेप संकलन घट्नु र कर्जा बढ्नु उपयुक्त नहुने बैंक विज्ञहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बैंकहरूसँग निक्षेप घटेको बताउँछन् । ‘अहिले राज्यसँग झन्डै ३ खर्ब रुपैयाँ छ ।
त्यो हामीसँग आउने निक्षेप हो । राज्यले राम्रो राजस्व उठाएकाले राज्यको ढुकुटीमा गयो । यसकारण निक्षेपमा कमी देखिएको हो,’ उनले भने ।चालू आर्थिक वर्षमा निक्षेपभन्दा कर्जाको विस्तार बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । नेपाल बैंकर्स संघको सार्वजनिक गरेको जेठ १४ गतेसम्मको तथ्यांकले पनि कर्जाको विस्तार बढी नै भएको देखाएको छ । यसो हुँदा बजारमा कर्जा प्रवाहमा असहज भने छैन ।आजको आर्थिक अभियान दैनिकबाट