मेलम्चीको सुरुङ खाली गरिँदै,नदी क्षेत्रमा सावधानी अपनाउन आग्रह
काठमाडौं- मेलम्ची खानेपानीको सुरुङको परीक्षण सफाई यही असार एक गतेदेखि गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
सुरुङ खाली गर्नेक्रममा बागमती नदी, मेलम्ची नदी, सिन्धु खोला, र ग्याल्थुम खोलामा नियन्त्रित रुपमा पानी छाडिने भएकोले खोला वरपर रहेको सबैले सावधानी अपनाउन समितिले अपील गरेको छ ।
पानी छोड्दा पानीको बहाब बढ्ने हुँदा सो क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन सर्वसाधारण सवैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ । करिब दुई हप्तामा सुरुङ खाली हुने र त्यस पछि सुरुङ निरीक्षण र सुधारको काम गरिने भएको छ । मेलम्ची नदीमा पुरानै अवस्थामा पानी बहने भएकोले नदीको पानीमा आधारित पेशा व्यावसाय सञ्चालन गर्ने सवैलाई आवश्यक सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।