Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन भदौ तेस्रो साता

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं  –नेपाली कांग्रेसले महाधिवेशन पूर्वनिर्धारित मिति फेरि परिमार्जन गर्ने भएको छ । कांग्रेसले पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिलाई पार्टी केन्द्रीय समितिबाट सामान्य हेरफेर गर्दै दुई साता सार्ने तयारी गरेको हो ।

यसअघि, ६ फागुन २०७७ मा संशोधन गरेको कार्यतालिकाअनुसार कांग्रेसले केन्द्रीय समितिबाट ७–१० भदौ २०७८ का लागि महाधिवेशन तोकेको थियो ।

वडादेखि केन्द्रसम्म मिति हेरफेर

उच्च स्रोतका अनुसार कांग्रेसले वडादेखि केन्द्रसम्मको अधिवेशनका पूर्वनिर्धारित मिति फेरबदल गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसले संविधानअनुसार पनि महाधिवेशन भदौभित्र नगरे वैधानिक्ता गुम्ने अवस्था छ ।

कांग्रेसले कोरोना महामारीका कारण महाधिवेशनलाई स्वास्थ्य मापदण्ड पालना गर्नेगरी र यसअघि हुनेभन्दा प्रक्रियामा विकल्प खोजेर गर्ने भएको हो । त्यो वैकल्पिक प्रक्रिया ‘के हो ?’ खुलाइएको छैन । स्रोतका अनुसार महाधिवेशन कार्यतालिका सामान्य संशोधनका लागि पहिले पदाधिकारी बैठक बस्ने र त्यसपछि केन्द्रीय समिति बैठकले कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ ।

‘सभापतिले पनि भनिसक्नुभयो, महाधिवेशन भदौभित्रै हुन्छ, तर पूर्वनिर्धारित मिति केही पर सर्छ, त्यो भनेको भदौ तेस्रो साता हो,’ उच्च स्रोतले भन्यो ।

यसअघि, कांग्रेसले ६ फागुन २०७७ मा बनाएको महाधिवेशन क्यालेन्डरअनुसार ५ असारमा वडा, ७ असारमा गाउँ–नगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अधिवेशन निर्धारित छ ।

यसैगरी, १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएको थियो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वडादेखिकै संरचना अधिवेशनका लागि निर्धारित समय हेरफेर हुन सक्ने बताए ।

‘भदौभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी वडादेखिकै संरचना अधिवेशन मिति हेरफेर विषयमा छलफल हुँदैछ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने, ‘समय अभावले धेरै ग्याप राखिएका तहको अधिवेशनको अन्तर पनि घट्न सक्छ ।’
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका संयन्त्रले महाधिवेशन केन्द्रित भएर धमाधम काम गरिरहेको जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण अन्तिम सूची केन्द्रमा तोकिएको समय प्राप्त नभएपछि पूर्वनिर्धारित कार्यतालिकामा केही परिमार्जन गरेर भदौभित्रै महाधिवेशन गर्नेगरी तयारी गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारमात्रै कुनै पनि हालतमा महाधिवेशन भदौ भित्रै हुने बताएका थिए । केही प्राविधिक विषय मिलाएर महाधिवेशन भदौभित्रै गर्ने देउवाको वक्तव्यमा उल्लेख छ ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिबद्ध छु,’ वक्तव्यमा भनिएको छ ।

उनले पार्टी महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूर्ण राजनीतिक अभियान भएकोसमेत भनेका छन् । महाधिवेशनका लागि असार र साउन दुई महिना बाँकी रहेको भन्दै देउवाले यो दुई महिनाभित्रै प्राविधिक विषय मानिने क्रियाशील सदस्यता व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशन तयारीलगायत सबै गर्नुपर्ने भन्दै यसका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भई काम गरिरहेको उल्लेख गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ । 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu