सामाजिक सुरक्षा भत्ता घरमै पाउदा दङ्ग
काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङकसम्म लिन आउन नसक्ने जेष्ठ नागरिक र अपाङता भएकालाई घर घर मै पुगेर वितरण गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङको नेतृत्वमा सिटिजन बैङकका कर्मचारी सहित घरघर मै पुगेर भत्ता बाँडन थालेपछि जेष्ठ नागरिक पनि दङ्ग भएका छन् ।
तेमाल गाउँपालिका वडा न ७ कुरुवासकी १०१ बर्षीय जेष्ठ नागरिक भैरवीदेवी मैनाली घर मै सामाजिक सुरक्षा भत्ता पाएपछि निकै खुशी देखिनुहुन्थो । उहाँले खुशी हुँदै भन्नुभयो, कोरोना र बन्दका कारण बैङकसम्म जान सकेको थिइन, अब भत्ता नपाइने पो हो की भन्ने चिन्ताले सताएको थियो । तर घर मै पो पैसा पाउँदा निकै खुशी छु ।
तेमाल गाउँपालिकामा जेष्ठ नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ती र एकल महिला गरी दुई हजार नौ सय जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँले करीब १० प्रतिशत जेष्ठ नागरिक र अपाङ्गताको रातो कार्ड पाएका बैङकसम्म सामाजिक सुरक्षाभत्ता लिन जान नसक्ने पाएपछि घरघर मै वितरण गरेको बताउनुभयो । भौगोलिक विकटता र निषेधाज्ञाका कारण यातायातका साधन नचल्दा धेरैले सामाजिक सुरक्षा भत्ता लिन सकेका छैनन । असार मसान्तसम्ममा नलिएमा उक्त रकम फ्रिज हुने भएपछि गाउँपालिकाले घर घर मै पुगेर आउन नसकेकालाई भत्ता बाडिरहेको छ ।
उपाध्यक्ष तामाङका अनुसार वडा न ९ का १२५, वडा न ८ मा ६४, वडा न ७ मा ४५ र वडा न ३ मा ३० जनालाई घर मै पुगेर भत्ता बाँडिएको छ । वडा न १, २ र अन्य वडामा पनि बाँकी रहेकालाई भत्ता बाँड्ने उपाध्यक्ष तामाङको भनाई छ । नेपाल सरकारले जेष्ठ नागरिक अपाङ्गताको रातो कार्ड भएकालाई एक चौमासिकमा १२ हजार, एकल महिलालाई आठ हजार र अपाङ्गताको निलो कार्ड भएकालाई छ हजार चार सय दिदैँ आएको छ । आगामी आर्थिक बर्षबाट सरकारले सामाजिक सुरक्षाभत्तामा बृद्धि गरेको छ ।