लिपिङ नदीको पुलबाट आउ जाउ गर्न रोकियो, अत्यावश्यक सामग्री ल्याउन समस्या
काठमाडौं – तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ ।मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधनलाई रोक लगाइएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको बताउनु भयो । पुलको आधार क्षेत्र नै कटान भएपछि आउ(जाउ बन्द गरिएको हो ।
पुलबाट यातायातका साधन सन्चालनमा रोक लगाइएपछि अत्यावश्यक सामग्री ल्याउन समस्या भएको तातोपानी भन्सार नाकाका भन्सार अधिकृत नारद गौतमले जानकारी दिनु भयो ।बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गत शुक्रबार पुल संरक्षणका लागि आवश्यक सहयोग गर्न भन्दै भौतिक योजना मन्त्रालय, गृह मन्त्रालय र सडक विभागलाई अनुरोध पत्र पठाएको थियो । तर, अहिलेसम्म पुल संरक्षणको काम हुन सकेको छैन । स्थानीयले सरकारले उत्तरी नाकामा मर्मत, सम्भारमा बेवास्ता गरेको गुनासो गर्दै आएका छन् ।