Connect with us
Kapilvast Forest

नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

२०७८, ९ असार बुधबारमा प्रकाशित

काठमाडौं – दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताउनुभयो ।

चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्रगतिमा निर्माणकार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनियर यादवको भनाइ छ ।

दमक नगरपालिका–३ दापगाँछीमा पाँच बिघा जग्गामा भ्यूटावरको निर्माण भइरहेको छ । नेपाल सरकारले यसलाई राष्ट्रि«य गौरवको आयोजनामा सूचीकृत गरी निर्माणकार्य तोकिएकै अवधिमा सम्पन्न गर्न भन्दै आएको छ तर कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिने देखिएको छ । “कोभिडको दोस्रो लहर नआइदिएको भए यतिबेला छैटौँ तला बनिसक्थ्यो”, इञ्जीनियर यादवले भन्नुभयो, “महामारीका कारण आधा जति कामदार घर फर्किए, आधाले काम गर्दा अलि ढिलो भयो ।” हाल भ्यूटावरमा ६० भन्दा बढी कामदारले दैनिक काम गरिरहेका छन् । कोभिड–१९ को सङ्क्रमणका कारण १०० भन्दा बढी भारतीय कामदार घर फर्किएको उहाँले बताउनुभयो । हाल कार्यरत मजदुर सिरहा र सप्तरीतिरका रहेका छन् ।

विसं २०७८ पुस २७ गते निर्माण सम्पन्न गर्ने गरी भ्यूटावर परियोजनाको ठेक्काको सम्झौता विसं २०७६ असार २७ मा भएको थियो तर तोकिएको मितिमा कोभिड–१९ का कारण निर्माण सम्पन्न नहुने हुँदा नेपाल सरकारसँग छ महिनाको म्याद थपका लागि पहल भइरहेको उहाँले बताउनुभयो । अठार तलाको भ्यूटावर १०० मिटर अग्लो हुने भए पनि त्यसको ७२ मिटर भाग मात्र पक्की संरचना हुने र बाँकी टुप्पोतिरको २८ मिटर भाग मेटल फ्रेमको बनाइने भएको छ । सात कठ्ठा क्षेत्रफलमा भ्यूटावरको संरचना बनिरहेको छ । टावरको सबैभन्दा तल्लो तलामा गाडी पार्किङस्थल हुनेछ । टावर वर्गाकारमा बन्नेछ ।

टावरको दक्षिणतिर प्रवेशद्वार, टिकट काउन्टर, सोभेनियर रुम रहने र पूर्वतिर स्वास्थ्यचौकी बनाइने भएको छ । पश्चिमतिर ओपन थिएटर र उत्तरतिर फाउन्टेन पार्क, चिल्ड्रेन पार्कलगायतका संरचना बनाइने भएको छ । भ्यूटावर दृश्यावलोकनका लागि मात्र नभएर व्यावसायिक प्रयोजनका दृष्टिले समेत महत्वपूर्ण हुने सपिङ कम्प्लेक्सको अवधारणबाट डिजाइन गरिएको छ । टावरका तलाहरुमा रेस्टुरेन्ट, होटल, बैंक, बुटिकलगायतका व्यावसायिकस्थलहरु रहने भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणकार्यको नियमित रेखदेख र गुणस्तरको अनुगमन गरिरहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu