ब्राजिलको लगातार तेस्रो जित
एजेन्सी – कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएउँदै लगातार तेस्रो जित निकालेको छ ।आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा रोबर्टो फिर्मिन्हो र कासमिरोले एक–एक गोल गरे ।खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो ।
खेलको १० औँ मिनेटमा जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए ।खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो । रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए ।
खेलको इन्जुरी समयमा ब्राजिलले विजयी गोल गर्यो ।ब्राजिलले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसँग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।
पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ ।आज राति भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।ब्राजिल यसअघि नै दोस्रो चरणमा पुगिसकेको छ ।