विद्यालयमा अनियमितता भएको भन्दै शिक्षिकाद्वारा अख्तियारमा उजुरी
बुटवल-रुपन्देहीको एक सरकारी विद्यालयमा व्यवस्थापन समितिले कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै एक शिक्षिकाले छानबिनको माग गर्नु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–४ को मुक्तिधाम आधारभूत विद्यालय व्यवस्थापन समितिले कीर्ते, जालसाजी र नीतिगत अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै निमित्त प्रधानाध्यापक दिलमाया कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिनुभएको हो ।
२०७७ साल साउनदेखि हालसम्म तलब भत्ता नदिइएको र तलब भत्ताको माग गर्दा निमित्त प्रधानाध्यापक मीरा कोहार र विद्यालय व्यवस्थापन समिति अध्यक्षले तलबमध्ये केही रकम दिनुपर्ने र निमित्त प्रअबाट राजीनामा दिई बरबुझारथ गर्नुपर्र्ने शर्त राखेकाले आफू मानसिक तथा आर्थिक अभावमा पिल्सिएको शिक्षिका कँडेलले बताउनुभयो ।
गत वर्षको असार १७ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ बैठकले निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएकोमा राजनीतिक पूर्वाग्रहका आधारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद चमारले कीर्ते गरी आफूलाई पदबाट हटाएको, निर्णय पुस्तिका लुकाई निर्णयलाई प्रभावित पारी सरकारी कामकाजलाई प्रभावित तुल्याउन खोजेकाले उक्त निर्णय पुस्तिकाको आवश्यक खोजी गरी कारबाही गर्न माग गरिएको छ ।
निमित्त प्रअ हुँदाहुँदै शिक्षिका मीरा कोहारलाई विद्यालय व्यवस्थापन समिति र गैड्हवा गाउँपालिका कार्यालयले कीर्ते गरी निमित्त प्रअ खडा गरी आर्थिक अनियमितता तथा चलखेल गर्न जालसाजी गरी राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखामा खाता सञ्चालन गरेकाले उक्त खाता बन्द गराई आवश्यक छानबिन तथा कारबाही गर्न माग गरिएको छ ।
निमित्त प्रअ कार्यरत रहेको अवस्थामा अरुको नाममा खाता सञ्चालनको निर्णय गरिएको र बरबुझारथ पनि कसैलाई नदिएको हुँदा विद्यालयको छाप, लेटर प्याड, चेकबुक लगायत अन्य आवश्यक कागजात कीर्ते गरिएको भन्दै छानबिन गर्न उहाँले माग गर्नु भएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले राजनीतिक आस्थाका आधारमा विवाद भएको र आफूले मिलाउने प्रयास गर्दा पनि सफल नभएको बताउनुभयो । ‘म आउनुभन्दा पहिल्यै सुरु भएको विवाद रहेछ, यस्तो नहुनुपर्ने हो,’ पौडेलले भन्नुभयो , ‘दिलमायाजीको तलब विद्यालयको खातामा हामीले पठाएका छौं, उहाँले छानबिनको माग राखेर बुझ्नु भएको छैन ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चमार जनता समाजवादी पार्टी निकट हुनुन्छ । उहाँले उक्त वडामा वडाध्यक्षमा चुनाव हारेका जसपाकै उम्मेदवार संगम कोहारकी भाउजू मीरा कोहारलाई निमित्त प्रअ नियुक्त गर्नु भएको हो ।