गण्डकी प्रदेशका चार मन्त्रालयको जिम्मेवारीबारे कुरा मिल्यो
पर्वत – मन्त्रालय बाँडफाँड तथा जिम्मेवारीको कुरा नमिलेका कारण अलमलको अवस्थामा रहेको गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार कार्य चार वटा मन्त्रालयबाट सुरु हुने भएको छ।
गठबन्धनमा सहकार्य गरेर सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल चुनिए।यस्तै, दलगत प्रतिनिधिको रूपमा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट प्रतिनिधित्व गरेकी मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बने पनि १७ दिनसम्म उनीहरू जिम्मेवारविहीन अवस्थामा राखियो।
लामो समयसम्म पनि कुरा नमिलेपछि मुख्यमन्त्री पोख्रेलसहित कांग्रेसका सांसदहरू पनि शीर्षस्थ नेतालाई भेट्न कांठमाडौं गएका थिए। कांठमाडौं यात्रा र प्रदेशमा भएको आन्तरिक छलफलबाट गठबन्धनमा रहेका दलहरू सुरुमा चार मन्त्रालयको बाँडफाँडमा सहमत भएका हुन्।
प्रदेश प्रमुखलाई यसबारे पत्र लेखेर जानकारी गराएपछि उनीहरूले आइतबारबाट मन्त्रालय सम्हाल्ने तयारी भएको छ।
‘शुक्रबार आपसमा कुरा मिलेको छ। अब आइतबारबाट चार मन्त्रीले मन्त्रालय सम्हाल्ने कुरा भएको छ। बजेटमाथिको छलफल पूरा भएर पारित भएपछि मन्त्रालय फेरबदल हुन सक्ने सम्भावना छ’, सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले भने, ‘बिना विभागीय अवस्थामा रहनुभएका मन्त्रीहरूले विभाग सम्हालेपछि अब बजेटमाथिको छलफल पनि सुरु हुनेछ।’
कसलाई कुन मन्त्रालय?
दलहरूबीच भएको सहमतिअनुसार तत्कालका लागि प्रवक्ता खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्ने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र राजीव गुरुङ ‘दीपक मनाङे’ले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
हरिशरण आचार्यले अहिलेसम्म अर्थ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका थिए। सरकारले विश्वासको मत लिन लाग्दा आचार्यले अर्थ मन्त्रालय चाहिने दाबी गरेपछि मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थ मन्त्रालय दिन तयार रहेको भनी सहमति पत्रमा हस्ताक्षर गरिदिएका थिए।
अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी परेपछि आचार्यले उक्त मन्त्रालयको दाबी छाडेका थिए।
पृथ्वी सुब्बा गुरुङ नेतृत्वको यसअघिको सरकारमा पनि मनाङेले युवा तथा खेलकुद मन्त्रालय नै सम्हालेका थिए। गठबन्धन सरकार निर्माणको निर्णायक भूमिकामा रहेका उनले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गर्दै आएका थिए।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले जेठ २९ गते कांग्रेस नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। सोही दिन मुख्यमन्त्री पोखरेलले ४ जना मन्त्री नियुक्त गरेका थिए। मन्त्री नियुक्त भए पनि उनीहरूले हालसम्म जिम्मेवारी पाएका थिएनन्।
मन्त्रीको कार्य विभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन्। प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालयमध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटन लगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले नै राखेका छन्।बाँकी मन्त्रीको नियुक्ति बजेट पारित भएपछि मात्रै गर्ने दलहरूबीच सहमति भएको छ।
गण्डकीमा सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र १ जना स्वतन्त्र सांसदको गठबन्धन बनेको थियो। उक्त गठबन्धनमध्येको एउटा घटक राष्ट्रिय जनमोर्चाले अघिल्लो सरकारलाई जस्तै वर्तमान गठबन्धनलाई पनि सरकार बनाउन सहयोग गर्यो तर सरकारमा नजाने निर्णय गरेको छ।बाँकी तीन दल र स्वतन्त्र सांसद मनाङे गठबन्धन सरकारमा सहभागी छन्।