Connect with us
Kapilvast Forest

अर्घाखाँचीका ६ स्थानीय तहको बजेट ४ अर्ब ७० करोड ५१ लाख

२०७८, १२ असार शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

विष्णुकुमार आले,अर्घाखाँची- जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले २०७८र०७९ का लागि ४ अर्ब ७० करोड ५१ लाख बढी बजेट सार्बजनिक गरेका छन्। शीतगंगा नगरपालिका, सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, पाणिनी गाउँपालिका, मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाले उक्त बजेट सार्वजनिक गरेका हुन्।

जिल्लाका ६ वटै स्थानीय तहले कोभिड १९ नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट पारित गरेका छन्।

सन्धिखर्क नगरपालिकाको बजेट

सन्धिखर्क नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना, उप–प्रमुख संचार प्रवर्द्धन योजना, डिजिटल कारोबार व्‍यवस्था जस्ता महत्वाकांक्षी योजनासहित आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कोरोना नियन्त्रण, कृषि, पशुपालन, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेर नगरले नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको हो।

नगरपालिकाले नगरसभाबाट ९८ करोड ५० लाख रुपैयाँ विभिन्न शिर्षकमा विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। नगर उप–प्रमुख ठाकुर कुमार विकले बजेट प्रस्तुत गर्दै सन्धिखर्क नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार जस्ता योजनाहरु समेटिएको बताउनुभयो

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एक वडा, एक पकेट कृषि बाली विकास कार्यक्रम, एक वडा, एक कृषि प्राविधिक, कृषि उत्पादन भण्डारणको ब्यबस्था, उचित बजार मुल्य, नगरभित्र रहेका धार्मिक साँस्कृतिक पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिने उल्लेख छ।

कोभिड १९ को खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थ्यकर्मी तथा नागरिकको सेवा सुबिधालाई निरन्तरता दिने जनाइएको छ।

कोभिडका कारणले अभिभावक गुमाएका सामुदायिक विद्यालयका लागि छात्रवृत्ति प्रदान गर्ने, सामुदायिक विद्यालय तथा प्राविधिक शिक्षामा अध्यनरत दलित विपन्न विद्यार्थीको लागि २५ प्रतिशत छात्रवृत्ति दिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सडकको स्तरउन्नति, पुल, झोलुङ्गे पुल तर्फ संघीय र प्रदेश सरकारसँग समन्वय गर्ने जनाइएको छ।

खेलकुदको बिकासका लागि बार्दी खेल मैदान र अर्घा खेल मैदानको उचित बिकास गर्दै खेल र खेलाडीहरुलाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ। सन्धिखर्क नगरपालिकालाई ग्रिन सिटी नगरको रुपमा चिनाउन एक कर्मचारी एक विरुवा, एक जनप्रनिनिधि दुई विरुवा लगाउने अभियान चलाउने भएको छ। व्यवसायीलाई घर बहाल कर छुट, व्यवसाय कर छुट दिने नगरपालिकाले जनाएको छ।

शीतगंगाले एकल पुरुषलाई पनि भत्ता दिने

शीतगंगा नगरपालिकाले ४० वर्ष पूरा गरेका एकल पुरूषलाई मासिक भत्ता दिईने नौलो योजनासहित आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

आगामी आर्थिक वर्षका लागि ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको नगर प्रमुख सूर्य प्रसाद अधिकारीले बताउनुभयो ।

आगामी वर्ष चालुतर्फ ४४ करोड ६५ लाख र पुँजीगततर्फ ३६ करोड २४ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ। नगरसभाले करिब १ हजार योजनाहरु पास गरेको छ। नगरपालिकाले कृषि, सडक, स्वास्थ्यलाई प्राथमिकता दिने गरि बजेट ल्याएको छ।

यस्तै, आगामी आर्थिक वर्षको बजेटमा एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरी बजेट ल्याइएको छ। ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषहरुलाई पनि नगरले मासिक भत्ताको ब्यवस्था गर्ने भएको हो। तर त्यस्ता नागरिकलाई मासिक कति रकम भत्ता उपलब्ध गराउने भन्ने बारे उल्लेख गरिएको छैन।

यस्तै, नगरपालिकाले ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुको आत्मबल बढाउन उनिहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको जनाएको छ। भौगोलिक दृष्टिकोणमा ६ सय ३० वर्ग किलोमिटरमा फैलिएको नेपालकै ठूलो नगरपालिका भए पनि नेपाल सरकारले १ सय भन्दा कम क्षेत्रफल भएको अन्य नगरपालिकाको तुलनामा बजेट पठाउँदा बिकासको गति अगाडि बढ्न नसकेको नगरप्रमुख अधिकारीको भनाइ छ। तर, अहिलेसम्म अनुदान प्राप्त बजेट समुन्द्रमा खहरेखोला मिसिए जस्तै तितरवितर पारिको र एकीकरण विकासमा जोड नदिएका कारण बिकास हुन नसकेको सरोकारवाला बताउँछन्।

भूमिकास्थानको शिक्षा र पर्यटनलाई प्राथमिकता

जिल्लाको भूमिकास्थान नगरपालिकाले शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०७८र०७९ को लागि नगर सभाले ८० करोड २७ लाख ६३ हजार बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख रेशम थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उप प्रमुख खडानन्द बेल्बासेले बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि, स्वास्थ्य, सडक, शिक्षा, पर्यटन पुर्वाधार जस्ता योजनाहरु समेटिएको छ।

यस्तै स्वास्थ्यतर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थ्यकर्मी तथा नागरिकको सेवा सुविधामा निरन्तरता दिने उल्लेख छ।

छत्रदेवको शिक्षा स्वास्थ्यलाई प्राथमिकता

जिल्लाको छत्रदेव गाउँपालिकाले पनि आर्थिक वर्ष २०७८र७९ को लागि ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको गाउँपालिकी उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले जानकारी दिइन्।

गाउँपालिकामा स्वास्थ्यमा १ करोड ७९ लाख, शिक्षामा ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख कृषि र पशुपालनमा ९२ लाख, सांस्कृतिक र पर्यटन क्षेत्रमा १ करोड ८४ लाख बजेट बिनियोजन गरेको छ।

गाउँपालिकाले बल्कोट अस्पताल र स्वास्थ्य चौकी सामुदायिक स्वास्थ्य इकाईको सेवालाई गुणस्तरिय बनाउने, जनताको लिफ्टिङ खानेपानी आयोजनाको ३३ प्रतिशत विद्युत महसुल पालिकाले तिर्ने, एक घर एक धारा अभियानलाई निरन्तरता दिने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताउनुभयो ।

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा जडीबुटी लगाउने जस्ता कार्यक्रम बजेटमा उल्लेख गरिएको छ।

पाणिनीको कृषि र शिक्षामा जोड

जिल्लाको पाणिनी गाउँपालिकाले कृषि, शिक्षालगायतमा जोड दिएर आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष अच्युत गौतमद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले पाणिनिको कृषि क्षेत्रलाई विशेष जोड दिएको छ।

गाउँपालिकाको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८र०७९ को लागि गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमले ६३ करोड़ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

नीति तथा कार्यक्रम पेश गर्दै कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले दूध उत्पादनका आधारमा दिइदै आएको अनुदानलाई निरन्तरता दिँदै मासु तथा अण्डा उत्पादनको आधारमा पनि अनुदान दिने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कृषि तथा पशुपालन व्यवसायलाई समयानुकूल आधुनीकिकरण गर्दै लैजानेमा उक्त नीति तथा कार्यक्रम केन्द्रित रहेको उहाँले बताउनुभयो ।त्यस्तै पाणिनिका ऐतिहासिक एवम् धार्मिक स्थलहरुको प्रबर्द्धन र विकासमा जोड दिदै पाणिनीको पर्यटनमा विशेष ध्यान दिने कुरा कार्यक्रममा उल्लेख छ।

पाणिनीको शैक्षिक पूर्वाधार विकास, शिक्षक, कर्मचारी तथा शिक्षक दरवन्दी मिलानजस्ता शैक्षिक क्षेत्रमा पनि विशेष पहल गरिने बताइएको छ।

कोभिड १९ को असहज अवस्थाबाट सबै क्षेत्र अस्तव्यस्त भएको सन्दर्भमा त्यसलाई पुरानै अवस्थामा फर्काउन विशेष पहलकदमी गरिने,युवा स्वरोजगारजस्ता कार्यक्रमहरुलाइ सशक्त ढंगले अघि बढाइने भएको छ।

मालारानीले २५ शैय्याको अस्पताल बनाउने

जिल्लाको मालारानी गाउँपालिकाको ११ औ गाउँ सभाले आर्थिक वर्ष २०७८र०७९ को लागि ८० करोड ३३ लाख २४ हजारको बजेट प्रस्तुत गरेको छ।

आगामि २ वर्षभित्र संघीय सरकारको समन्वयमा पालिकाभित्र १५ शैय्याको अस्पताल निर्माण कार्य सम्पन्न गर्ने गरि बजेटको व्यबस्था भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।

यस्तै, कोभिड अस्पताललाई स्तरोन्नति गरी अबदेखि पालिकाभित्र एक्सरे सेवा सञ्चालनको अन्तिम तयारीमा रहेको समेत आचार्यले बताए। हेफर इन्टरनेसनलको सहकार्यमा गाउँमै स्वरोजगार हुने गरि कार्यक्रम तथा बजेटको व्यबस्था गरेको छ।

पालिका कोरोना महामारी नियन्त्रण, कोरोनाका कारण रोजगारी गुमाएका नागरिकहरुलाई पालिकामा स्वरोजगार बनाउने जस्ता निती कार्यक्रमको प्रस्तुत भएको छ। पालिकाले एमबिबिएस, इन्जिनियर र कृषि भेटेरीनरी अध्ययान गर्ने लक्षित बर्गलाई छात्रबृत्ति दिने गरी बजेट बिनियोजन गरेको छ।

यस्तै, कृषि भेटनरी र जेटिए अध्ययान गरेर बसेका व्यक्तिहरुलाई स्वरोजगार बनाउनको लागि बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताउनुभयो ।

जनताको जनजिबिकासँग प्रत्यक्ष सरोकार राख्ने गरि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनुभयो ।

मालारानी गाउँपालिकाले ५ वर्षे आवधिक योजनासमेत निर्माण गरेको छ। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु सोही आवधिक योजनाअनुसार आएको पालिकाका योजना अधिकृत नेत्रप्रसाद खनालले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu