निषेधाज्ञाको अवधिमा सल्यानमा आठ महिला हिंसाका घटना
सल्यान – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको अवधिमा सल्यानमा आठ वटा महिला हिंसाका घट्ना घटेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १९ देखि हालसम्म आठ वटा महिला हिंसाका घटना भएका छन्। निषेधाज्ञाको अवधिमा ६ जबरजस्ती करणी, एक बालविवाह तथा एक बहुविवाहका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
घटनामा संलग्न सात जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने एक जना फरार छन्। फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ। अपराधिक मनोवृति, मादक पदार्थ सेवन लगायतका कारण महिला हिंसाका घटना बढेको पौडेलको भनाई छ।
पहिलो चरणको लकडाउन ९२०७६ चैत १२ देखि० लकडाउन अवधिभर जबरजस्ती करणी चार र जबरजस्ती करणी उद्योगका तीन गरी सात घटना भएको प्रहरीको तथ्यांक छ। गत आर्थिक वर्षमा जबरजस्ती करणीका १९, जबरजस्ती करणी उद्योगमा ५, बाल विवाह ५ र बहुविवाह २२ घटना भएका थिए।