पार्टी परित्याग पछि बेदुराम भुसाल सांसद रहँदैनन् : प्रमुख सचेतक
काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालले पार्टी परित्याग गरेपछि सांसद पनि नरहने दाबी गर्नु भएको छ ।
उहाँले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा पत्र पठाएपछि प्रमु सचेतक भट्टराईले दल छाडेपछि उनको सांसद पनि स्वतः जाने बताउनु भएको छ ।
‘राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नू, गराउनू, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाउनु भएको छ ’ प्रमुख सचेतक भट्टराईले भन्नु भएको छ , ‘यो पत्रसँगै उहाँले नेकपा एमाले परित्याग गरेको जनाउनु भएको छ। पार्टी परित्यागपछि उहाँ स्वतन्त्र हुनुन्छ , तर सांसद भइरहन सम्भव हुँदैन।’
भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र सांसदको मान्यता दिन निवेदन दिनु भएको छ
‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरू दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ,’ संसद् सचिवालयलाई लेखेको पत्रमा भुसालले भन्नु भएको छ ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रूपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रूपमा नै रहन चाहन्छु।’