वडाध्यक्ष र पूर्वजनप्रतिनिधिकै नाममा सडकको नामाकरण
दोलखा-दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको नामाकरण गरेको हो । केही सडकको त यसअघि नै नामाकरण गरेर पनि पुनः नामाकरण गरेको हो ।
आफूखुसी वर्तमान जनप्रतिनिधिले सडकमार्गको नामाकरण गरेपछि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जालमा विरोध भएपछि नेकपा एमालेका जिल्लास्तरका नेता तथा पूर्वगाविस अध्यक्ष गुणबहादुर बुढाथोकी, थिरबहादुर मोक्तान, धनबहादुर तमाङले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आफ्नो नाम सडकमा नजोड्न आग्रह गरेका छन् । फस्कु गाविसका पूर्वअध्यक्ष बुढाथोकीको नाममा दोलखाको चरङ्गे खोलामा निमार्णाधीन वृद्धाआश्रमको नाम फेरेर गुणबहादुर आश्रम दिइएको छ । ताम्चेत दूधपोखरी गाविसका पूर्वअध्यक्ष थिरबहादुर मोक्तानको नाममा थिरबहादुर मार्ग नामाकरण गरिएको र मागापौवा गाविसका पूर्वअध्यक्ष धनबहादुर तमाङको नाममा धनबहादुर मार्ग भन्दै नामाकरण गरेर सार्वजनिक गरेको थियो ।
गाउँपालिकाले धनबहादुर मार्ग नामाकरण गरेको मार्ग पहिला नै मनमोहन मार्ग थियो । मनमोहन मार्ग मेटेर धनबहादुर मार्ग बनाएको छ । त्यसैगरी गाउँपालिकाले उपप्रमुख लालमाया योञ्जनका सुसुरा वीरबहादुर घिसिङको नाममा पनि सडक नामाकरण गरेको छ । घिसिङ एमालेका स्थानीय नेता तथा पूर्वगाविस उपाध्यक्ष हुन् ।