खोटाङको बाघेढुङ्गा सब–स्टेशन सञ्चालन
खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको बाघेढुङ्गामा नेपाल विद्युत प्राधिकरणको सब–स्टेशन सञ्चालनमा आएको छ ।
स्टेशन ट्रान्सफर्मरले लोड दिन नसकेको अवस्थामा केन्द्रबाट प्राविधिक बोलाएर मर्मत गरेर सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताउनुभयो ।
गाइघाट–दिक्तेल ३३ केभी प्रशारण लाइन अन्तर्गत वर्षौँअघि निर्माण भएको सब–स्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन । बाघेढुङ्गा सब–स्टेशन प्राधिकरणले खोटाङमा निर्माण गरेको दोश्रो सब–स्टेशन हो ।
बाघेढुङ्गा सब–स्टेशनको सिमपानी–लिच्कीराम्चे फिडरबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका तथा साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाको केही गाउँमा विद्युत वितरण हुने प्राधिकरणले जनाएको छ ।
यसअघि बुईपा सब–स्टेशनबाट राजापानी फिडर हुँदै यी गाउँपालिकामा बिजुली बल्ने गरेको थियो । उदयपुरको गाईघाटबाट खोटाङको बुईपा सब–स्टेशनसम्म ३३ केभी प्रसारण लाइन प्रवाह हुने गरेको छ ।