दैनिक दुई लाखलाई कोभिड खोप
काठमाडौं-कोरोना संक्रमणको सम्भावित तेस्रो लहर आउने संकेत देखिएपछि सरकारले खोप र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्यमन्त्रीका रुपमा नियुक्त भएका उमेश श्रेष्ठले खोपलाई प्राथमिकता दिने योजना सार्वजानिक गरेसँगै दैनिक खोप लगाउने मानिसको संख्या लगभग दुई लाखको हाराहारीमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत ३ दिनमा दैनिक १ लाख ८१ हजार देखि १ लाख ९८ हजार जनाले खोप लगाएको जनाएको छ । मन्त्रालयका अनुसार आइतबार १ लाख ९५ हजार १३२ जनाले खोप लगाएकोमा मंगलबार सो संख्या १ लाख ९८ हजार ४५९ पुगेको जनाएको छ । स्वास्थ्य राज्य मन्त्री श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमार्फत असोजमा २ करोड ४३ लाख, कोभ्याक्स सुविधा अन्तर्गत १ करोड १३ लाख, कोभ्याक्स लागत सहभागितामा १ करोड १० लाख खोप आउने क्रममा रहेको जनाउँदै क्रमशः सबैलाई खोप उपलब्ध हुने जनाएका छन् ।
यसमध्ये पनि वयस्क तथा किशोर किशोरी समेतलाई लक्षित गरी मोडेर्ना खोप ४० लाख, जोन्सन एन्ड जोन्सन ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० हजार गरी जम्मा १ करोड ५० लाख खोप उपलब्ध हुने समेत उल्लेख गरेका छन् । यसैगरी फाइजरको ६० लाख खोप खरिद प्रक्रियाको थालनी समेत भएको बताए । उनले एक तिहाइ नागरिकलाई असोज मसान्तसम्म र सम्पूर्ण नागरिकलाई चैत मसान्तसम्म खोप उपलब्ध हुने बताएका छन् ।
सरकारले हालसम्म ९७ लाख ८३ हजार मात्राको भेरोसेल, कोभिसिल्ड, जे एन्ड जे खोप प्राप्त गरेर प्राथमिकताका आधारमा खोप लगाइरहेको छ । यसैगरी असोज र माघ अन्तिमसम्म प्राप्त भएको र आयात हुने सुनिश्चिता भएको खोपको संख्या ५ करोड २२ लाख ८२ हजार रहेको जनाएको छ ।
यस मध्ये ९७ लाख प्राप्त भइसकेको, असोजसम्म १ करोड २ लाख आइसक्ने जनाएको छ । बाँकी ३ करोड २३ लाख खोप माघसम्म आउने जनाएको छ । यस मध्ये ५० लाख खोप अनुदानको रुपमा भारत, चिन, अमेरिका, जापान र कोभ्याक्स, गाभी लगायतका लागत साझेदार संस्था र देशले उपलब्ध गराएका छन् ।