Connect with us
Kapilvast Forest

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

 सुर्खेत-जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् ।

 

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ ।

घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले    भने । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिर खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप थियो । ‘यहाँ त पहिलेदेखि नै वडाध्यक्षको दादागिरी चल्छ, अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो,’ प्रत्यक्षदर्शी स्थानीयले भने, ‘सम्झाइ-बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो तर वडाध्यक्ष अक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयहरु बताउँछन् ।वडाध्यक्षको गल्तीलाई ढाकछोप गर्ने प्रयास, प्रहरीको रोहबरमा मिलापत्र

वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबीच मिलापत्र भएको छ ।मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ ।

स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन् ।

कुटपिट नगरेको वडा अध्यक्षको दाबी

वडाध्यक्ष नेपाली भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए । तर, भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ ।

‘ढुंगामुढा गर्दै, जथाभाबी बोलेपछि आमा-बाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौंं, त्यहीबेला केही व्यक्तिहरुले सामान्य हातपात गरेछन्,’ उनले भने । नवीन र आफूबीच कुनै पनि दुश्मनी नभएको उनले बताए ।

जेष्ठ नागरिक, विधुवा, बालिबालिका, अपांग भएका लगायत डेढ/दुई सय मानिस जम्मा भएका बेला रक्सी खाएर वडा कार्यालयमा ढुंगा प्रहार गरेको र सर्वसाधारणको भागाभाग भएपछि आफूले सम्झाइ-बुझाइ गरेको वडाध्यक्षले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उता, नवीनकी आमाले भने घटना अकस्मात् भएको जानकारी दिइन् । ‘छोराले अलिअलि रक्सी खाएको रहेछ, होहल्ला गरेछ, पछि गाउँलेले कुटपिट गरेछन्’, उनले भनिन् ।

उजुरी आए तुरुन्तै कारबाही हुन्छ : प्रहरी

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने भिडियो सार्वजानिक भएपछि प्रहरीले स्थलगत छानविन गरेको र पर्सेलाई वडा अध्यक्ष र स्थानीयले नियन्त्रणमा लिएको स्वीकार गरे ।

‘वडा अध्यक्षले इलाका प्रहरीलाई खबर गर्नु भएको रैछ, तर प्रहरी घटनास्थलमा पुग्न हिंडेर दुई/तीन घण्टा लाग्छ, प्रहरी त्यहाँ पुग्दासम्म वडा अध्यक्षको रोहवरमा मिलापत्र भैसकेको रहेछ,’ उनले भने ।

उनले अघि थपे, ‘अहिलेसम्म पीडितका तर्फबाट कुनैपनि उजुरी आएको छैन, उजुरी आए प्रहरीले तुरुन्तै कारबाही थाल्छ ।’ जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापा भने केही दिनदेखि बिदामा छन् ।-अनलाइनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu