Connect with us
Kapilvast Forest

विमला वली फेरि माओवादी केन्द्रमै

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

 

 

बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् ।

माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’

 

विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने आफूहरुसँग बताएको माओवादी संसदीय दलका ती सदस्यले बताए ।

दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।

आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu