दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ
सुर्खेत – दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गापा- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ पर्नु भएको छ।साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरे पछि उहालाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयो।
‘वडाध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं’ प्रहरी निरीक्षक पाण्डेले भन्नु भयो ।
पीडितलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्। पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानूनी कारबाही हुने प्रहरीले जनाएको छ ।
‘हामीले पीडितलाई जाहेरी दिन आग्रह गरेका छौं, पीडितले जाहेरी नदिए पनि कानून बमोजिम कारबाही हुन्छ’, उहांले भन्नु भयो ।