देशका विभिन्न ११ ओटा सडक अझै अवरुद्ध
काठमाडौं – बाढी पहिरोका कारण देशका विभिन्न ठाउँका ११ सडकखण्ड अझै ठप्प छन् । बाढी पहिरोले एक सय ६० सडकमा क्षति पुर्याएकोमा ५३ वटा सडकखण्ड दुईतर्फी खुलेका छन् भने ९६ सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । तर, ११ वटा सडकखण्डमा भने धेरै ठाउँमा क्षति भएको र भौगोलिक विकट क्षेत्रका कारण पनि खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।
सबैभन्दा धेरै लमजुङको डुम्र्रे बेंसीशहर–चामे सडकमा समस्या देखिएको छ । यो सडकखण्ड लामो समयदेखि बन्द छ । त्यहाँको तिमाङ छहरा, धारापानी, बगरछाप, रामबजार, अर्खले र तिमाङखोला गरी ६ ठाउँमा ठूलो क्षति पुगेको हुँदा सडक खुलाउन कठिन भएको विभागले जनाएको छ ।
यसैगरी अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल क्षेत्रमा सडक पनि ठप्प छ । यस्तै, ठोरी–रसुवागडी सडकखण्डको त्रिशूली, सानो भार्खु, गाँजाबारी मैथली खण्डमा धेरै नोक्सानी पुगेको छ । यस्तै सुर्खेत–गमगडी सडकको कालिकोटको हुल्ममा पुर्याएको क्षतिका कारण सडक ठप्प छ । सडक विभागले सडक खुलाउन र यातायातलाई सहज बनाउन मर्मत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेर काम गरिरहेको बताए पनि भागोलिक विकटताका कारण समस्या भएको छ ।
जिरो किलोदेखि मेलम्चीसम्मको सडक पनि भत्कियो
अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची जाने सडकलाई बाढीले कटान गरेको छ । गएको १६ गतेदेखि मेलम्चीमा आएको बाढीको कटान अझै रोकिएको छैन । गएराति बाढीले सडक कटान गर्दा अरनिको राजमार्ग अन्तरगतको जिरोकिलो हुँदै मेलम्ची जाने मुख्य सडकखण्ड भत्किएको छ । यसले गर्दा त्यहाँको जनजीवन झन् कष्ठकर बनेको छ ।
बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सडक अस्तव्यस्त पारेको छ । यसअघि जिरोकिलोबाट मेलम्चीसम्मको सडकमा क्षति नभए पनि गएरातिको बाढीले नोक्सानी गरेको हो । यो सडक भासिएसँगै अब मेलम्चीबाट काठमाण्डौ आवतजावतका लागि काठमाण्डौको साँखुको वैकल्पिक सडक प्रयोग गर्नु पर्नेछ ।