Connect with us
Kapilvast Forest

थप १२ उद्योग र बिक्रेतालाई नेपाली चियाको ट्रेडमार्क

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

 

इलाम – नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ। गत वर्ष १२ उद्योग र बिक्रेताले ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए। यस वर्ष थप १२ जनाले पाएका छन्।

इलाम, पाँचथर र मोरङका चिया उद्योग र बिक्रेतालाई ट्रेडमार्क दिइएको हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरे।

अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक्ष्मी टि इन्डष्ट्रिज, आरुबोटे टि स्टेट, अर्गानिक नेपाली टि इन्डष्ट्रिज, ग्रीनहिल अर्थोडक्स चिया प्रशोधन उद्योग, माङमालुङ टि स्टेट, ग्रीन भ्याली टि प्रालि, मातृभूमि टि स्टेट, इलाम टि हाउस , कञ्चनजंघा टि स्टेट र ब्रदर्श अर्थोडक्स टिले एकै पटक ट्रेडमार्क पाएका हुन्। गत वर्ष सूर्योदय नगरपालिकामा तत्कालिन कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा पहिलो पटक चियाको लोगो हस्तान्तरण गरिएको थियो। बोर्डले दुई वर्षअघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो। यस पटक इलामका १० , पाँचथर १ र मोरङको एक उद्योगले ट्रेडमार्क पाएका छन्।

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँछन्। बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ। र, अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने प्रावधान छ।

ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ। नेपाली चियाको अन्तिम उत्पादकले ट्रेडमार्क प्रयोग गर्न पाउनेछ। प्याकेजर वा उत्पादकले चियामा तोकिएको गुणस्तर पुगेपछि बोर्डमा निवदेन दिनुपर्ने र बोर्डले आवश्यक परे स्थलगत अवलोकन गरेपछि मात्रै ट्रेडमार्क प्रयोग गर्न दिने व्यवस्था निर्देशिकामा छ। प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्ने गरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी चार सर्त निर्देशिकामा व्यवस्था छ। माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ।

 

ट्रेडमार्क हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले चियालाई अर्गानिक प्रमाणीकरण गरी बिश्व बजारमा नेपाली चियाको बजार बिस्तारमा ट्रेडमार्क कोसेढुंगा सावित भएको बताए। उनले अर्गानिक चिया उत्पादनमा समस्या भएपछि बोर्डले सहयोग गर्ने बताए। भट्टराईले इलामका केही चिया बगानमा नेपालमै प्रतिबन्ध लगाइएको विषादी प्रयोग गरिएको पाइएकाले तत्काल अनुगमन गरी कारवाही गरिने बताए। उनले अर्गानिकमा जान समय लाग्ने भएकाले किसानलाई अर्गानिक चिया उत्पादनमा लाग्ने समयका लागि अनुदान, सहुलियत ऋणको ब्यवस्था गरिने बताए। चीनसँग चिया व्यपारका लागि प्रक्रिया अघि बढेको उनको भनाइ छ। उनले भने‚ ‘नेपाली चिया चीन निर्यात गर्न जी टु जी सम्झौताका लागि ड्राफट तयार भइसकेको छ केही समय भित्र नै यो कार्यान्वयन गरिनेछ।’

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले कोरोनाको लामो संक्रमणपछि साना चिया उद्योग संकटमा परेको चिन्ता व्यक्त गरे। उनले चिया क्षेत्रमा स्थिरता ल्याउनका लागि हरियोपत्तीको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ तोकिएको भए पनि ठूला उद्योगले कार्यान्वयनमा नल्याउँदा समस्या देखिएको बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu