एमालेमा अध्यक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव, विधान महाधिवेशनका लागि चार समिति गठन
काठमाण्डौ– नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । आज सोमवार च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ ।
बैैठकले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेर पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो ।
प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यवस्था गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले अध्यक्षबाहेकका अन्य पदाधिकारीको चयन भने पार्टी केन्द्रीय कमिटीले गर्ने प्रस्ताव पनि संशोधनका लागि तयार पारिएको विधानमा उल्लेख गरिएको नेता ज्ञवालीले स्पष्ट पार्नुभयो ।
एक महिना पार्टीको तल्लो कमिटीले छलफल गरेपछि त्यो प्रस्तावित विधान आउँदो भदौ २७ र २८ गते हुने एमालेको विधान महाधिवेशनले पारित गर्नेछ । प्रवक्ता ज्ञवालीले विधान महाधिवेशन गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो ।
प्रस्तावित विधान मस्यौदामा महाधिवेशन प्रतिनिधि परिषद्को व्यवस्था गरिएको छ भने केन्द्रीय कमिटी, पोलिटब्युरो र सचिवालय मात्रै रहने व्यवस्था पनि गरिएको छ । स्थायी कमिटी भने विधानबाट हटाउने प्रस्ताव गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
प्रस्तावित विधानमा पाँच वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने, प्रदेश अधिवेशन चार वर्षमा, तीन वर्षमा जिल्ला अधिवेशन र अन्य कमिटीहरूको अधिवेशन दुईरदुई वर्षमा गर्ने पनि प्रस्ताव गरिएको एमालेले जनाएको छ । बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भनी तयार पारेको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक प्रस्ताव मस्यौदा समिति, महासचिव ईश्वर पोखरेल नेतृत्वको सङ्गठनात्मक प्रस्ताव मस्यौदा समिति, सङ्गठन विभाग प्रमुख विष्णु पौडेल नेतृत्वको विधान संशोधन मस्यौदा समिति र नेता रामबहादुर थापा नेतृत्वको महाधिवेशन व्यवस्था समिति बनाउने स्थायी कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।
एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनबाट पार्टीको नेतृत्व र विधान अधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।