प्रक्रिया छोट्याएर समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो ।
महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन हुनुपर्ने निर्णय गरेको नेता गुरु घिमिरेले बताउनु भयो । तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने आजको बैठकको निर्णय हो,’ उहाँले भन्नु भयो , ‘प्रक्रिया छोट्याएर भएपनि महाधिवेशन हुनुपर्छ ।’
पौडेल समूहले क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पौडेल समूहले केन्द्रीय समिति बैठक अघि नै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने जनाएको छ ।
वरिष्ठ नेता पौडेलले बाँकी समयमै महाअधिवेशन गरेर पार्टी वैधानिकता जोगाउनेबारे छलफल भएको बताउनु भयो । ‘महाधिवेशनका लागि एक महिनाको समय मात्रै बाँकी छ । यो समयमा कसरी महाधिवेशन गर्न सकिन्छ भन्नेबारे छलफल गरेका हौं,’ उहाँले भन्नु भयो , ‘एक–दुई दिनमा जति क्रियाशील सदस्यता विवाद टुंग्याउन सकिन्छ त्यसलाई टुंग्याउने र बाँकीको हकमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने हाम्रो धारणा छ ।’
उहाँले संविधानले पाँच वर्ष ६ महिनाभन्दा बढि समय नदिएको दावी गर्दै तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा आफूहरुको जोड रहेको बताउनु भयो । पार्टी वैधानिकता जोगाउन वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशनको प्रस्ताव अगाडि सारेका थिए । तर उनी पक्षीय नेताहरुले भने विशेष महाधिवेशन नभई नियमित महाधिवेशनमै जोड दिनु भएको ।
पौडेल पक्षीय जिल्ला सभापति बैठकमा भने विशेष महाधिवेशनमा जोड दिइएको छ । जिल्ला सभापति बैठक सोमबारदेखि काठमाडौंमा शुरु भएको छ ।