राहदानी विभागमा छैन स्वास्थ्य मापदण्ड पालना
काठमाडौं- काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण सेवाग्राहीहरु भीडमा बसेर राहदानी लिन बाध्य भएका छन्।
मंगलबार बिहानैदेखि राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपील गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएका कारण भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिएका हुन् ।
छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना कालमा पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो ।
उहाँले आफैले भौतिक दूरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे ।
उता, धनुषाबाट आएका धिरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दूरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको पनि बताउनुभयो ।
राहदानी नविकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले पनि भीडमा बसेको राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उनहाँले कोरोनाको जोखिम मोलेर पनि आफूहरु राहदानी लिन भीडमा बस्न बाध्य हुनु परेको पनि स्पष्ट पार्नु भयो ।
सरकारले भौतिक दूरीको कुरा गरेपनि सेवा लिने बेलामा भिडको व्यवस्थापन समेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उहाँहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गर्नु भएको छ । ।