मेस्सी र पीएसजीबीच सम्झाैता
एजेन्सी- अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् ।केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन् ।
३५ वर्षीय मेसीले बार्सिलोनामा १७ वर्ष बिताएपछि क्लब छोडेका हुन् । पिएसजीले अब चाँडै मेस्सीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।
बार्सिलोनाले आर्थिक र संरचनागत कारण देखाएर मेस्सीलाई क्लबमा राख्न नसकिने जनाएको थियो । यद्यपि, यसअघि बार्सिलोना र मेसीबीच आधा रकम घटाएर पाँच वर्षका लागि नयाँ सम्झौता हुने खबर पनि सार्वजनिक भएको थियो ।
सन् २००० देखि बार्सिलोनामा आबद्ध मेस्सीले सन् २०१७ मा २०२१ सम्म चार वर्षका लागि सम्झौता गरेका थिए । बार्सिलोनाका लागि सर्वाधिक ६ सय ७२ गोल गरेका उनले ३५ उपाधि जितेका छन् । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिग छन् । ला लिगामा सर्वाधिक ४ सय ७४ गोलकर्ता खेलाडी पनि उनै हुन् ।