
लुम्बिनी प्रदेशका सांसद शाही र वलीलाई पदमुक्त गर्न सभामुखलाई एमालेको पत्र
बुटवल- नेकपा एमालेले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरे प्रदेश सभा बैठक चल्न नदिने बताएको छ ।
शाही र वलीलाई पदमुक्त गर्न पार्टीले बुझाएको पत्र प्रदेश सभा बैठकमा सभामुखले पढेर सुनाए बैठक चल्न दिने अन्यथा नदिने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभएको छ । ‘पार्टीले दुबैजनालाई कारवाही गरेको पत्र सभामुखले पढेर सुनाउनुभयो भने सदन चल्छ, नभए चल्दैन’–ढकालले भन्नुभयो ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेको पत्रबारे विस्तृत अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताउनुभएको छ ।
नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।
वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोप समेत लागेको थियो ।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आउनुभएको छ ।