रसुवामा पहिरोले एक घर पुरियो, चार जना बेपत्ता
रसुवा-रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा एक जना घाइते हुनु भएको छ भने चार जना बेपत्ता हुनु भएको छ । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते हुनुभएको छ ।
उहाँ घरबाहिर सुतेको र घाइते अवस्थामा स्थानीयले उद्धार गरि उपचारका लागि नुवाकोट पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उहाँको श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताउनु भयो ।
कृषि सडकको डिल भत्किएर घर पुरिएको जानकारी आएको उहाँले बताउनु भयो । घटनाबारे बिहान साढे ५ बजे जानकारी पाए लगत्तै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोलि अहिले घटनास्थलतर्फ प्रस्थान गरेको उहाँले बताउनु भयो । घटनास्थलतर्फ जाने बाटो सबै बिग्रिएकाले कालिकास्थानबाट डोजर लिई बाटो खुलाउँदै घटनास्थलतर्फ गइरहेको उहाँको भनाई छ ।