Connect with us
Kapilvast Forest

म्याग्दीमा गएकाे वर्ष सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

orange suntala

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७७/७८ मा सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिने जिल्लाको बास्कुना, राखु, मरेक, बराङ्जा र अर्मनलगायत क्षेत्रमा देखिएको रोग किराको प्रकोपले उत्पादनमा ह्रास आएको हो ।

 

म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मरेक, राखु, ४ नम्बर वडा सिङ्गाको बास्कुनास, मङ्गला गाउँपालिका-३ र ४ बराङ्जा तथा मङ्गला-५ अर्मनका कृषकहरुले लगाएको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोप देखिएको थियो । याे किराको प्रकोपका कारण कुल उत्पादनको औसतमा २५ प्रतिशत अर्थात् ८ सय ३४ मेट्रिक टन सुन्तलामा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोपका कारणले सुन्तला नपाक्दै बोटमै सुक्ने, झर्ने, बोट सुक्दै जाने जस्ता समस्याले सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार रोग किराको प्रकोपका कारण झरेका सुन्तलाको दाना व्यवस्थापनका लागि कार्यालयबाट कृषकहरुलाई प्लास्टिक र झोला सहयोग गरिनुका साथै स्थलगत निरीक्षण गरि रोग, किराको प्रकोप नियन्त्रणमा आवश्यक पहल गरिएको थियो ।जिल्लामा वार्षिक ३ हजार ३ सय ३७ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेकोमा गएकाे वर्ष प्रकोपका कारण २ हजार ५ सय ३ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । गएकाे वर्षको तथ्याङ्कअनुसार जिल्लाभर कुल ८ सय हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा ४ सय ४५ हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको थियो ।

उत्पादित सुन्तलामध्ये ५० प्रतिशत अर्थात् १२ सय बढी मेट्रिक टन सुन्तला जिल्लाभित्रै खपत भएको कार्यालयको तथ्याङ्क छ भने जिल्लाभर उत्पादित सुन्तलाको कुल छ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । सुन्तलामा लागेको रोग, किराको प्रकोपले उत्पादनमा कमी आएको हुँदा गएकाे वर्षको तुलनामा यसवर्ष सुन्तला निर्यात घटेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गर्नुभयो ।

 

रोग तथा किराको प्रकोप व्यवस्थापन गर्नका लागि म्याग्दीका सुन्तला उत्पादक कृषकहरुलाई लक्षित गरेर विभिन्न ७ ठाउँमा तालिम दिइएको छ । यसैगरी बाली संरक्षण प्रयोगशाला पोखराको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा पहिलो चरणमा अर्मनमा १ हजार सुन्तलाको बोटमा खाद्य पासो थापेर रोग किराको प्रकोप नियन्त्रणको सुरुवात गरिएको छ। चालु आर्थिक वर्षका लागि खाद्य पासो कार्यक्रमतर्फ ५० लाखको कार्यक्रम प्रस्ताव गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।

कृषि प्राविधिकहरुले दिएको जानकारीअनुसार सुन्तला रोपेको ५ वर्षपछि फल दिन सुरु हुन्छ । फल दिए पनि तुरुन्तै सुन्तलाले लाभ दिन नसक्ने भएकाले ६ देखि १० वर्षसम्म लाभ दिन थाल्छ।त्यसपछि अनुकूल वातावरण तथा रोग, किराको प्रकोप नभएको खण्डमा सुन्तला लगाएको १२ वर्षपछि लगानीको १५ गुणाले आम्दानी दिने कृषि प्राविधिकहरू बताउँछन् । सुन्तला खेतीमा व्यवस्थापन खर्च भने कम रहेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu