‘म बाहिरिएँ, राजनीतिले काम गरोस्:अल्मुताइरी
काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार नेपाल छाड्ने संकेत गर्नु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र आफूबीच चलेको विवादबारे राष्ट्रिय खेलकुद परिषदको छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै उहाँले नेपाल छाड्ने मनसाय पोख्नु भएको छ ।
उहाँले सामाजिक सन्जालमा लेख्नु भएको छ ‘म बाहिरिएँ, राजनीतिले आफ्नो काम गरोस् ।’ यसअघि पनि उहाँले नेपाली टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो तर, आफ्नो घोषणाअनुसार काम भने गरेनन् । छानबिन समितिले सामाजिक सञ्जालमा लेखेको त्यही घोषणा हटाउन पनि भनेको छ ।
नेपाली टिमको जिम्मेवारी सम्हालेयता सामाजिक सन्जालमा खुबै लोकप्रियता कमाएका प्रशिक्षक अल्मुताइरीले त्यसमै विवादास्पद भनाइ भने राख्दै आएका छन् । साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नु एक साताअगाडि प्रशिक्षकको यो घोषणा आएको हो ।