एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्दिनँ : नेपाल
काठमाडौं-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यकाल भन्दा बढी अध्यक्ष पदमा नबस्ने घोषणा गर्नु भएको छ ।शनिबार ललितपुरमा आयोजित पेशागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जसरी पनि कुर्सीमा बस्न नखोज्ने बताउनु भयो । “जसरी पनि सत्तामा, कुर्सीमा टिकिरहने गरी बसिनेछैन,” अध्यक्ष नेपालले भन्नु भयो , “एक कार्यकाल भन्दा बढी म पार्टीको नेतृत्वको अध्यक्ष पदमा बस्नेवाला छैन।”
अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भन्नु भयो “यो अरूको जस्तो नक्कली घोषणा होइन।”अन्य पार्टीमा जस्तो वर्षौंवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुने उहाँको भनाइ थियो। “नयाँ पुस्ताका व्यक्ति योग्य र सक्षम बन्दै आउँदै छन्। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जानेछौं,” नेपालले भन्नु भयो ।
उहाँले एमालेमा भएका कमी–कमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताउनु भयो । “यो पार्टी पुरानो भइसकेको एमाले भन्दा भिन्न हुनेछ। त्यसका गल्ती कमजोरीबाट मुक्त हुनेछ,” नेपालले भन्नु भयो ।
यससँगै पार्टीमा सामूहिक नेतृत्व प्रणालीलाई अवलम्बन गरिने नेपालको भनाइ थियो। त्यसमा पनि युवालाई प्राथमिकतामा राखिने उहाँले बताउनु भयो ।
उहाँले एमाले बस्ने कि एकीकृत समाजवादीमा लाग्ने भन्ने दोधारमा नरहने नेता(कार्यकर्तालाई आग्रह गर्नु भयो । “दुई नाउमा खुट्टा नराख्नुस्, मध्यमार्गी कोही नबन्नुस्। एउटा नाउमा खुट्टा राख्नुस्, सागर पार गरिन्छ,” नेपालले भन्नु भयो , “आत्तिनुपर्ने केही छैन। सबै भन्दा सही बाटोमा हामी छौं।”उहाँले एमाले अध्यक्ष ओलीलाई अझै पनि सच्चिन आग्रह गर्नु भयो । “अहिले पनि भन्छु, केपी ओलीजी सुध्रिनुस्, प्रतिगमनको क्रियाकलापप्रति आत्मालोचना गर्नुस्।”