माओवादीले सांसद खाइदियो,अदालतले मन्त्री खाइदियो :रायमाझी
बनेपा – नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझी २०७५ जेठ २ मा जस्ताको त्यस्तै फर्किदा एमालेको मात्र एकता हुने भन्दै १० बुँदे सहमतिको कार्यन्वयन सिर्जनात्मक ढंगबाट गरिने बताउनु भएको छ ।
एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले अहिलेको एमाले तत्कालीन माओवादीसहितको नेकपाको निरन्तरता भएकाले एमालेकोमात्र एकताले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्न नसकिने बताउनु भयो ।
रायमाझीले भन्नु भयो जेठ २ को हुबहु कार्यन्वयन र एमालेको मात्र एकताले हामी मूल प्रवाह बन्न सक्दैनौं । त्यसले त एकता प्रक्रियामा आएकाहरुलाई निषेध गर्छ । एकथरी मिल्दा अर्कोथरि विस्थापित हुनेगरि १० बुँदे लागू हुँदैन । त्यसैले अध्यक्ष कमरेडले १० बुँदेलाई रचनात्मक ढंगबाट ग्रहण गरेर सिर्जनात्मक ढंगले लागु गर्ने भन्नुभएको हो ।
पूर्व माओवादी समूहबाट एमाले एकतामा रहेका रायमाझीले आफूहरु सांसद र मन्त्रीको लोभ त्यागेर एमाले बनेको बताउनु भयो । उहाँले एमालेसँग एक्लै लड्न नसकिने भएकाले सत्तापक्षले महागठबन्धन बनाएको भन्दै ती सबैलाई परास्त गर्न नेकपा एकताको निरन्तरताका रुपमा एमालेलाई अघि बढाइने बताउनु भयो ।
रायमाझीले भन्नु भयो हामी नेकपा एकताकै प्रक्रियाबाट आएका हौं । आज सांसद जोगाउन अध्यादेश र मन्त्री खान परमादेशको सहारा लिनेहरुले जस्तो हामीले पदको लोभ गरेका भए माओवादीतिरै जाने थियौं । हाम्रो त माओवादीले सांसद खाइदियो,अदालतले मन्त्री खाइदियो तर पनि कोइ बात छैन ।