Connect with us
Kapilvast Forest

दुई महिनाभित्र ६० लाख डोज खोप ल्याइँदै

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

 

काठमाडौँ — कोभिड–१९ विरुद्धको थप ६० लाख डोज खोप आउने टुंगो लागेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खरिद गरेको ४४ डोज भेरोसेल खोप असोज २९ (अक्टोबर १५) भित्र ल्याइनेछ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्नासाथ चीनले सहयोगको प्रतिबद्धता जनाएको १६ लाख डोज खोप पनि सेप्टेम्बर अन्तिमसम्म भित्र्याइने भएको छ ।

 

 

मन्त्रालयका अनुसार विभिन्न स्रोतबाट करिब १ करोड ३३ लाख डोज खोप आइसकेको छ । त्यसमध्ये करिब १७ लाख डोज मौज्दात रहेको मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले जानकारी दिए । मौज्दातमध्ये १५ लाखभन्दा बढी डोज सबै प्रदेशमा पठाइएको छ भने करिब डेढ लाख आकस्मिक अवस्थाका लागि केन्द्रमै राखिएको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अन्तर्राष्ट्रिय अभियान कोभाक्स सुविधाबाट समेत डिसेम्बरसम्म ६० लाख डोज खोप खरिद (कस्ट सेयरिङ) गरी ल्याउने तयारी थालिएको डा बिच्छाले जानकारी दिए । ‘कोभाक्सले कुन खोप दिन्छ भन्ने अझसम्म स्पष्ट भएको छैन,’ उनले भने, ‘तर हामीले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपका लागि आग्रह गरेका छौं ।’

डा. बिच्छाका अनुसार कोभाक्समार्फत भेरोसेल, अक्सफोर्ड अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनमध्येबाट कुनै खोप आउने सम्भावना छ । नेपालमा एक तिहाइभन्दा बढी (३४.३५ प्रतिशत) ले खोप लगाएका छन् । १६.१० प्रतिशतले पूर्ण र १८.२५ प्रतिशतले पहिलो डोज लगाएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५ सय ९८ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार शनिबारसम्ममा एक डोज लगाउनेको संख्या १ करोड ३ लाख ७५ हजार ७ सय ६४ पुगेको छ । ‘साउन १२ गते कम्तीमा एक डोज लगाएका ४९ लाख २० हजार १० जना थिए, पछिल्लो ४० दिनमा ५४ लाख ५५ हजार ७ सय ५४ जना थपिएका छन्,’ डा. बिच्छाले भने, ‘पछिल्लो समय दिनमा सरदर डेढ लाखदेखि दुई लाख मात्रासम्म खोप लगाइरहेका छौं ।’

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार शुक्रबारसम्म काठमाडौंका ४० प्रतिशत नागरिकले पूर्ण खोप पाएका छन् भने ४८ प्रतिशतले पहिलो डोज लगाएका छन् । काठमाडौंका ११ पालिकामध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकाका १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको खड्काले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले १८ वर्षमाथिका सबैलाई चैत मसान्तसम्म पूर्ण खोप लगाउने लक्ष्य लिएको छ । असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनिएकामा अभियान लक्ष्यअनुसार नै अघि बढेको डा. बिच्छाको दाबी छ । ‘एक डोजले समेत संक्रमणसम्बन्धी जटिलता, मृत्युदर आदिलाई धेरै घटाइरहेको देखिएको छ,’ उनले भने । मन्त्रालयले अघिल्लो साता सार्वजनिक गरेको कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरो प्रिभ्यालेन्स सर्वेक्षणको प्रारम्भिक नतिजामा खोपको प्रभावकारिता राम्रो देखिएको छ । एक डोज लगाएकामा ८० प्रतिशत र पूर्ण खोप लगाएका ९० प्रतिशतमा कोभिडविरुद्घको एन्टिबडी बनेको सर्वेक्षणले जनाएको छ ।

 

बालबालिकाका लागि एक करोड डोज खोप ल्याइने

स्वास्थ्य मन्त्रालयले डिसेम्बरदेखि सन् २०२२ को मार्चसम्म बालबालिका/किशोरकिशोरीका लागि करिब एक करोड डोज खोप ल्याउने तयारी थालेको छ । डब्लूएचओले १२ देखि १८ वर्ष उमेर समूहका लागि मोडर्ना र फाइजर खोपलाई मात्र आकस्मिक अनुमति दिएको छ । सरकारले यिनै दुई कम्पनीका खोप ल्याउने तयारी थालेको हो । डा. बिच्छाले डिसेम्बरसम्म ६० लाख डोज फाइजरमध्ये ५० लाख आउने बताए । बाँकी १० लाख डोज भने २०२२ को जनवरीदेखि मार्चसम्ममा आउन सक्ने सम्भावना छ । त्यस्तै, २०२२ को जनवरीदेखि मार्चसम्म मोडर्नाको ४० लाख डोज खोप पनि आउने डा. बिच्छाले बताए ।कान्तिपुर

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu