कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो ।यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका लागि दलको बैठक बोलाइएको उहाँले बताउनु भयो ।
सचेतक भुसालका अनुसार दलको बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने, छलफल गर्ने र आगामी रणनीति के हुने रु भन्ने विषयमा विचार आदानप्रदान हुनेछ ।
सदनलाई सहज रुपमा चलाउने प्रयासमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरिरहेको उहाँले बताउनु भयो ।‘बजेट लगायतका महत्वपूर्ण विषयलाई अगाडि बढाउनुपर्ने छ । यसका लागि सदन सहज ढङ्गले चल्नुपर्ने हुन्छ । सदनलाई सहज रुपमा चलाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल भइरहेको छ,’ उहाँले भन्नु भयो ।
एमालेसँग बजेट पास गर्नका लागि नियमावली निलम्बन गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनु भयो ।तर, सार्वजनिक रुपमा एमालेका नेताहरुले सदनलाई चल्न नदिने भनिरहेको आफूहरुको जानकारीमा रहेको भन्दै हाँले सदनलाई चल्नै नदिने रणनीति एमालेले अख्तियार गरेको खण्डमा के गर्ने भन्ने विषयमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका बीचमा छलफल भइरहेको बताउनु भयो ।
‘बजेट जस्तो महत्वपूर्ण विषयलाई अगाडि बढाउन नदिने काम भयो भने त्यो जिम्मेवार प्रतिपक्षी ठहरिँदैन । त्यस्तो केही गरी भयो भने लोकतान्त्रिक प्रक्रिया (बहुमत) का आधारमा निर्णय (नियमावली निलम्बन) गरेर जानुपर्ने पनि हुन सक्छ । हामी सबै विकल्पमा खुला भएर छलफल गरिरहेका छौं,’ उहाँले भन्नु भयो ।