सभामुखले बोलाएको बैठक एमालेले बहिष्कार गर्ने
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि संसदका प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको भएपनि एमालेले बहिस्कार गर्ने भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सभामुखले आज बोलाएको बैठकमा एमाले सहभागी नहुने बताउनु भयो ।सभामुखले नेकपा एकीकृत समाजवादी नामको पार्टी सहभागी गराएको बैठकमा हामी सहभागी हुँदैनौ’, तामाङले भन्नु भयो , ‘जबकी हामीले उक्त पार्टीको वैधानिकता नै स्वीकार गरेका छैनौँ । त्यसमा सभामुखको समेत भूमिका छ ।’
उहाँले सत्तापक्ष र प्रतिपक्षका हैसियतमा कुनै छलफल भए वा बोलाएमा भने एमालेले सहभागिता जनाउने बताउनु भयो ।एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाउनु भएको हो ।हामी सत्तापक्ष र प्रतिपक्षबीच कुनै समस्या भएर समाधान वार्ता राखिन्छ भने त्यसमा सहभागी हुन्छौँ’, तामाङको भनाइ छ ।