एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्ष उमेर हदको प्रस्ताव
काठमाडौं-पार्टीभित्र असन्तुष्टि बढेपछि नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको छ ।आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा संगठन विभागले प्रस्ताव गरेको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको हो । यसअघि अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय सदस्यहरुबाट अध्यक्षले मनोनित गर्ने प्रस्ताव गरिएको थियो । त्यसको पार्टीभित्रै आलोचना भएपछि संगठन विभागले पूर्ववत व्यवस्थालाई निरन्तरता दिने खालको प्रस्ताव गरेको हो ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुन रोक लाग्ने गरी विधान संशोधनको प्रस्ताव आएको छ ।आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ’, एक स्थायी कमिटी सदस्यले भन्नु भयो ।
स्थायी कमिटीमा आएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए ओली फेरि प्रधानमन्त्री हुन पाउने छैनन् । यद्यपि ७० वर्ष उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउनुहुने छ ।
एएमाले अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री हुनु भएको थियो । २०७४ को आम चुनावपछि उहाँ फेरि प्रधानमन्त्री बनेका ओली २०७८ वैशाख २७ गते विश्वासको मत नपाएसँगै पदमुक्त हुनु भएको थियो ।
त्यसको तीन दिनपछि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ (५)बमोजिम सरकार बनाउन राष्ट्रपतिलाई सिफारिस गर्नु भएको थियो ।
त्यसपछि ओलीले विघटन गरेको प्रतिनिधिससभा २८ असारमा सर्वोच्च अदालतले पुनर्स्थापनाको फैसला गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै ओली पदच्यूत हुनु भएको हो ।