असोज ५ मा पनि कांग्रेसका १३ जिल्लाको वडा अधिवेशन नहुने !
काठमाडौँ — कांग्रेसले यसपटक पनि सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्न नसक्ने भएको छ । पछिल्लो पटक २० जिल्लाको वडा अधिवेशन एकैदिन गर्न केन्द्रीय निर्वाचन समितिले ५ असोज अर्थात् मंगलबार वडा अधिवेशन गर्ने मिति तोकेको थियो । तर, त्यसको तयारीका लागि एक दिनमात्रै बाँकी रहँदा पनि १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन ।
निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले आइतबार बेलुकीसम्म पनि १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो नलागेका कारण मंगलबार ती जिल्लाको वडा अधिवेशन नहुने बताए । ‘अहिलेसम्म क्रियाशील सदस्यकै सूची तयार भएको छैन । त्यसैले अब एकै दिनमा ती जिल्लामा वडा अधिवेशन गर्न सम्भव छैन,’ घिमिरेले भने, ‘त्यसबाहेकका ७ जिल्लामा भने लगभग तयारी पूरा भएको छ । ती जिल्लामा अधिवेशन हुन्छ ।’
घिमिरेका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा वडा अधिवेशन हुनेछ ।त्यसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा सदस्यताको टुंगो नलागेका कारण अधिवेशन अनिश्चित बनेको छ ।