व्यवसायीले स्यानिटरी प्याडको मूल्य बढाए, सरकार मूकदर्शक
काठमाडौं -सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि बजारमा स्यानिटरी प्याडको मूल्य बढ्यो । खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको भन्दै मूल्य बढाएपछि सामाजिक सञ्जालमा बहस छेडियो । केही दिनदेखि मर्यादित महीनावारीका अभियन्ताहरु सडकमा छन् र उनीहरु सरकारलाई प्याडलाई कर मुक्ति गर्न माग गरिरहेका छन् ।
बिहीबार ‘रातो कर माफ गर’ भन्दै अभियन्ताले माइतीघरमण्डलमा रातो रंग लतपतिएको कपडामा शन्तिपूर्ण प्रदर्शन गरेका छन् । स्यानिटरी प्याडलाई विलासिताको वस्तुमा झैं कर लिएको भन्दै धेरै महिलाहरुले सरकारलाई प्याडलाई करमुक्त गर्न आग्रह गर्दै पोष्टहरु गरेका छन् ।
सरकारले कर बढाएको हो –
अर्थ मन्त्रालयका अनुसार स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९र७० देखि नै १५ प्रतिशत भन्सार महसुल कायम छ ।१५ जेठमा अध्यादेश मार्फत ल्याइएको चालु आर्थिक वर्ष २०७८र७९ को बजेटबाट स्वदेशमा स्यानिटरी प्याड बनाउने कच्चा पदार्थमा लगाउँदै आएको १० प्रतिशत भन्सार शुल्कलाई ५ प्रतिशतमा झारेको छ । यो नीतिगत व्यवस्थाले स्वदेशमै प्याड उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारी विश्वास छ ।
मन्त्रालयका अनुसार बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यो करको दरमा कुनै हेरफेर भएको छैन । शुक्रबार मन्त्रालयले विज्ञप्ति निकालेर कर बढाएको भन्ने हल्ला भ्रामक भएको र तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत हल्ला फैलाएर नकारात्मक सन्देश प्रवाह गर्न खोजिएको बताएको छ ।
मूल्य बढ्दा सरकार मौन
तर सरकारले प्रतिस्थापन विधेयक आएको मौका छोपेर व्यवसायीहरुले मूल्य बढाएको चाहिं यथार्थ हो । कच्चा पदार्थको आयातमा गरिएको कर छुटको लाभ स्वदेशी स्यानिटरी उत्पादक र उपभोक्ताले उठाउन नपाउँदै भारत, चीन, ताइबान, लगायतका देशबाट आयात हुने प्याडको मूल्य व्यवसायीहरुले एकाएक बढाएका छन् ।