देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापति निर्वाचित
डडेल्धुरा- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बन्नु भएको छ ।शनिबार सम्पन्न पालिका अधिवेशनमा जोशी परशुराम नगरपालिकाको सभापतिमा निर्वाचित भएका हुन्।
पालिका अधिवेशनमा दुई सय मत खसेकोमा जोशी १ सय ४८ मत पाएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत मात्र प्राप्त गरे। ४ मत बदर भएको मतदान अधिकृतले जनाउनु भयो । उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी हुनु भएको छ । सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुनुन्छ ।
यस्तै, अमरगढी नगरपालिकाको सभापतिमा खेमराज भट्ट, आलिताल गाउँपालिकाको सभापतिमा चन्द्रदेव बोहरा, अजयमेरु गापाको सभापतिमा टेकराज पाण्डेय, भागेश्वरको सभापतिमा डम्बरराज जोशी, गन्यापधुराको सभापतिमा इन्द्र कार्की र नवदुर्गा गाउँपालिकाको सभापतिमा भोजराज भट्ट निर्वाचित हुनु भएको छ ।