मुख्यमन्त्री आचार्यको कार्यकाल थप ८ दिन लम्ब्याइयो
विराटनगर-प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको पद अन्ततः ८ दिन थप लम्बिएको छ । आइतबार विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउन बस्नुपर्ने प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएसँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारको आयु ८ दिन लम्बिएको हो ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा बैठक आइतबार सञ्चालन हुन्थ्यो भने मुख्यमन्त्री आचार्यले आइतबार नै सत्ता छाड्नु पर्दथ्यो । तर, नाटकीय रुपमा उनको कार्यकाल ८ दिनसम्म लम्बिएको छ ।
सत्तारुढ दल नेकपा एमालेले प्रदेश सरकारको आयु केही दिन लम्ब्याउन चाहिरहेकै समयमा विपक्षी गठबन्धनमा आवद्ध नेपाली काँग्रेसले समेत आइतबार प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै मुख्यमन्त्री आचार्यलाई आगामी ८ दिनसम्म सत्तामै राख्न भूमिका निर्वाह गरेको छ ।