झाडा पखालाले ३० बाख्रा मरे
दाङ -दाङको फुलबारी क्षेत्रमा खसीबोकामा झाडा पखालाको प्रकोप देखिएको छ। खसीबोकामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानले बताएका छन्। प्रकोपबाट दुई साताको अवधिमा ३० वटा खसीबोका मरेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीमा बाख्रापालन गर्दै आएका ६ जना किसानका ३० वटा खसीबाख्रा मरेको बाख्रापालक किसान गोविन्द सुवेदीले जानकारी दिनु भयो ।
उनका अनुसार खसीबाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो। उक्त समस्या देखिएको केही दिनमा नै सबै खसीबोका मरेको बताए। स्थानीय किसान हिरामती चौधरीको चार वटा खसी र सात वटा बाख्रा गरी ११ वटा, लालबहादुर चौधरीको २ वटा बाख्रा, शान्ता चौधरीको ६ वटा बाख्रा, बलविर चौधरीको ४ वटा बाख्रा, मनोज चौधरीको ४ वटा बाख्रा र पूर्णबहादुर चौधरीको २ वटा बाख्रा मरेको उहाँले जानकारी दिनु भयो ।
दुई साताको अवधिमा उक्त संख्यामा खसीबाख्रा मरेको र अझै पनि ८ वटा खसीबाख्रा बिरामी रहेको पशु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिनु भयो ।
किसानले समयमा खसीबाख्राको उपचारमा ध्यान नदिँदा ठूलो क्षति भएको उनले बताए। वर्षातको समयमा खसीबाख्राको खानपान र स्याहारमा ध्यान नदिंदा खसीबाख्रा मरेको उहाँले बताउनु भयो ।
चरणमा भिजेका कारण पखाला र ज्वरो आउने जस्ता लक्षण देखिएकाले उनीहरुको खानपान, औषधोपचार र स्याहारमा विशेष ख्याल गर्नु पर्ने उनले बताए। आफूहरुले पीडित किसानसँग भेट गरी बाँकी बिरामी भएका बाख्रालाई औषधी र परामर्श दिइसकेको आचार्यले जानकारी दिनु भयो ।