आउँदो चुनावमा ४ पार्टीबीच गठबन्धन हुन्छ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको बताउनु भएको छ ।
बिहीबार चितवनमा आयोजित कार्यक्रममा उहाँले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताउनु भएको हो ।
हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छ छ र आधार छ’ उहाँले भन्नु भयो ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् । जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ ।’
प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताउनु भयो ।उहाँले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिनु भयो । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भन्नु भयो ।