Connect with us
Kapilvast Forest

काँग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ? (सूचीसहित)

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाली काँग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। काँग्रेसले १४ औं महाधिवेशनका लागि पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको छ । काँग्रेसले वडादेखि केन्द्रीय सभापतिसम्मको उम्मेदवारी दर्ता गर्दा शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसार गाउँपालिका र नगरपालिका भित्रका वडा कार्यसमितिमा उम्मेदवारका लागि पनि शुल्क तोकिएको छ। वडा सभापति पदका लागि पाँच सय, उपसभापति, सचिव र सहसचिवका लागि तीन सय, प्रदेश सभा क्षेत्रीय प्रतिनिधिका लागि पाँच सय र सदस्य पदको लागि एक सय रूपैयाँ शुल्क तोकिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार वडा अधिवेशन करिब सबै जिल्लामा सकिएको छ ।

गाउँपालिका कार्यसमितिका लागि सभापतिका लागि दुई हजार, उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्यको निर्वाचनका लागि पाँच सय शुल्क तोकिएको छ । यस्तै नगर सभापतिमा उम्मेदवार हुँदा चार हजार, उपसभापति र सचिवका तीन हजार, सहसचिवका लागि दुई हजार र सदस्यलाई एक हजार शुल्क निर्धारण गरिएको छ ।

काँग्रेसले महानगरपालिका र उपमहानगरपालिका अन्तर्गत सभापतिका लागि पाँच हजार शुल्क तोकेको छ । यस्तै उपसभापति र सचिवका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । काँग्रेसको पालिका स्तरको अधिवेशन अन्तिम चरणमा छ । कात्तिक ३० गते १४ जिल्लामा पालिका अधिवेशन सम्पन्न गर्न तयारी छ । यसअघि ६३ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ । उक्त जिल्ला केही पालिकामा रोकिएको अधिवेशन पनि मंगलबार नै हुने कार्यतालिका छ ।

 

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार पाँच सय र सदस्यलाई दुई हजार शुल्क लाग्ने छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गतेका लागि तय गरिएको छ । १३ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापतिलाई सात हजार, उपसभापति र सचिवलाई पाँच हजार, सहसचिवलाई चार हजार र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरिएको छ ।

साथै जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार शुल्क लाग्नेछ। मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

प्रदेश महाधिवेशन प्रतिनिधिका लागि तीन हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पाँच हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि सात हजार रुपैयाँ शुल्क लाग्ने छ।

प्रदेश सभापति पदका लागि १५ हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्री उम्मेदवारले ११ हजार र सदस्यका लागि पाँच हजार शुल्क तिर्नुपर्छ।

यस्तै काँग्रेसले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ भने मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ ।

महाधिवेशनबाट काँग्रेसमा सभापति १, उपसभापति २ महामन्त्री २ सहमहामन्त्री ८ (क्लस्टर) निर्वाचन मार्फत् नै चुन्ने व्यवस्था गरेको छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी चयन गरिने व्यवस्था छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu