Connect with us
Kapilvast Forest

जनगणना टोली छाङरु र तिङ्करतर्फ

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

 

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुुग्नेछ ।

छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । छाङरु र तिङ्करको जनगणना गर्न गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उहाँहरू नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटो प्रयोग गरेर त्यसतर्फ गएका जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताउनु भयो ।

नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर, भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएको हो । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।

पाण्डेले भन्नुभयो, ‘‘गणक राजेन्द्र कार्की, सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलङ्गाबाट छाङरु र तिङ्करको जनगणना गर्न प्रस्थान गरेका हुन् । खलङ्गादेखि व्यास गाउँपालिका–२ दुम्लिङसम्म बाटो ठीक छ, दुम्लिङदेखि छाङरु र तिङ्करसम्म घर, पसल र मानव आवातजावत छैन ।’’ दुम्लिङभन्दा माथि जान सक्छन् कि सक्दैनन्, अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसँगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलसाथ खलङ्गाबाट टोली प्रस्थान गरेको उहाँले बताउनुभयो ।

नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयवासी भारतीय बाटो प्रयोग गर्दै दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्दै आएका छन् । तर, जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भने भारतले बाटो नदिएको हो ।
जनगणना गर्न छाङरु र तिङ्करसम्म जाने बाटो प्रयोग अनुमतिका लागि तीन पटक पत्राचार गरे पनि अनुमति नपाएको दार्चुला प्रशासनले जनाएको छ । देशभरि कात्तिक २५ गतेदेखि गणक जनगणनाका लागि सबै वडामा खटिएका थिए । छाङरु र तिङ्कर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले भारतलाई औपचारिक र अनौपचारिक अनुरोध गरिए पनि अनुमति नपाएको नेपाली अधिकारीहरूले जनाएका छन् ।

कात्तिक २५ गते माथिल्लो क्षेत्रमा पहिरो गएर बाटो बिग्रेको छ, केही दिनपछि अनुमति दिउँला भनेर अल्झाएको भारतीय प्रशासनले पछिल्लो समय भारतकै केन्द्र सरकारबाट गणकलाई जान दिने नीति छैन भन्ने निर्देशन आएको र बाटोसमेत राम्रो नभएकाले तत्काल अनुमति दिन नसकिने जवाफ दिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ ।

व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिशत जनगणनाको काम सकिएको जनगणना अधिकारी पाण्डेले बताउनुभयो । अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा जिल्लाबाट भौतिक रूपमा जनगणना गर्न नसकिने उहाँले बताउनुभयो । केन्द्रबाट वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्ने कुरा सुन्नमा आएको बताउँदै उहाँले भौतिक उपस्थितिमा जनगणना गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो ।

जाडो छल्न बेँसी झर्दै
व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिङ्कर गाउँ अतिक्रमित नेपाली भूमि कालापानीभन्दा करिब १२ किलोमिटर दूरीमा छ । छाङरु तीन हजार दुई सय मिटर र तिङ्कर तीन हजार छ सय मिटरको उचाइमा भएकाले हिउँद लागेपछि ती दुवै गाउँमा बाक्लो हिमपातसँगै जाडो बढेर बस्न सकिँदैन ।
प्रत्येक वर्ष मङ्सिर पहिलो साता यहाँका नागरिक बेँसी झर्ने गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । मङ्सिर पहिलो साता खाद्यान्न, लालाबाला, बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा झर्ने व्यासवासी त्यहाँ छ महिना जाडो छलेर मध्यवैशाखमा पुनः गाउँ फर्किन्छन् । जनगणनाकै कारण यो वर्ष अहिलेसम्म व्यासवासी बेँसी नझरेको वडाध्यक्ष बोहराले बताउनुभयो ।

सदरमुकामबाट व्यासका विभिन्न गाउँ आवातजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भन्नुभयो, ‘‘सरकारी काम र बसाइँ–सराइका लागि भारतीय प्रशासनसँग अनुमति माग्ने गरिएको छ ।’’ अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुसार मानिसलाई प्रवेशपत्र दिने गरिएको छ । भारतले बाटो प्रयोग गर्न दिए खलङ्गास्थित महाकाली पुलघाट तरेर भारतको धार्चुला पुग्न सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu