प्रधानमन्त्रीले आपूर्तिमन्त्री नपाएको भए हामी दिन तयार छौं:माधव नेपाल
काठमाडौं -नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले, प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताउनु भएकोछ ।संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग आइतबार बिहान भएको भेटमा नेपालले सो कुरा बताउनु भएको हो।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु नेता नेपालको ध्यानाकर्षण गराउनु भएको थियो । सो क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भन्नुभयो , ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैंले सबै हेर्न पनि सकिंदैन । हामीले भनेका छौं अरु कोही पाइया छैन भने हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के
प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको कोटाबाट जबराका जेठान नेता पर्ने गजेन्द्र हमाललाई आपूर्ति मन्त्रीमा नियुक्त गर्नु भएको थियो । तर त्यसको सर्वत्र विरोध भएपछि हमालले भोलिपल्टै पदबाट राजीनामा दिनु भएको थयो ।
जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउँदै नेपालले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने बताउनु भयो । ‘सबैभन्दा पहिले सरकार गम्भीर बन्नुपर्यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्तामा बसेका पार्टीहरुले चासो र सरोकार राख्नुपर्यो । यसर्थ यो हाम्रो दायित्वभित्र पनि पर्दछ,’ उहाँले भन्नु भयो ।
नेता नेपालले अगाडि भने, ‘यसको निम्ति हामी पनि छलफल गर्छौं । सरकारलाई पनि भन्ने छौं । सरकारले बरु करको दायरा घटाउनु पनि पर्यो । प्रधानमन्त्रीको म ध्यानाकर्षण गराउँछु ।’
अत्यधिक मूल्यवृद्धि गरेर जनतामा अत्याचार भएको बताउँदै उनले यसबारे सम्बन्धित निकायसँग आफूले बुझ्ने पनि बताउनु भयो ।