Connect with us
Kapilvast Forest

सत्ता गठबन्धनमा एकमत नै रहे प्रदेश १ बाहेकमा एमालेले जित्ने सम्भावना शून्य 

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ — संघदेखि प्रदेशसम्मका पाँचवटा सरकार गुमाएको एमालेले आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा थप आठ सदस्य पनि गुमाउने सम्भावना छ ।राष्ट्रिय सभामा एमालेका २३ सदस्य छन् । तीमध्ये एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार/चार, कांग्रेसका तीन र मनोनीत एक जनाको कार्यकाल फागुन २० मा सकिँदै छ । रिक्त हुने पदमा आगामी माघ १२ मा निर्वाचन हुँदै छ ।

यो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सहकार्य गर्ने निर्णय गरेका छन् । ‘गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भइसकेको छ,’ माओवादी नेता लीलामणि पोखरेलले भने, ‘कसले कति संख्या लिने भन्नेचाहिँ निर्णय हुन बाँकी छ ।’ दलहरूबीच अहिले जसको म्याद सकिन्छ, त्यो उसैले लिने सहमति भएको तर एमालेको आठ सिटमा कसले कति लिने भन्ने टुंगो लाग्न बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।

 

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सरकारले माघमा निर्वाचन गर्न लागेको हो । ‘निर्वाचन आयोगले चाँडै कार्यतालिका सार्वजनिक गर्नेछ,’ आयोगका सहायक प्रवक्ता कोमल धमलाले भने ।

निर्वाचन घोषणासँगै दलहरू भने अंक जोड–घटाउमा लागेका छन् । मतदाताको संख्या विश्लेषण गर्दा पनि गठबन्धनको तुलनामा एमाले प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशमा कमजोर देखिन्छ । ‘प्रदेश १ बाहेक अन्यत्र हामी कमजोर देखिएका छौं,’ फागुन २० मा कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले भने, ‘अन्य प्रदेशमा जित्न हामीले धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।’

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्न पाउँछन् । सत्ता गठबन्धनमा एकमत भएको अवस्थामा प्रदेश १ बाहेक अन्य ६ वटै प्रदेशबाट एमालेले जित्ने सम्भावना शून्य छ । निर्वाचन आयोगको अध्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ भने एमालेको ४ हजार ५ सय ४२ छ । साना पार्टीको मतभार ३ सय ४२ छ । प्रदेश सदस्य टंक आङबुहाङले दल त्याग गरेपछि त्यो पदमा अर्को व्यक्ति निर्वाचित भइसकेको छैन ।

 

राष्ट्रिय सभा निर्वाचन ऐनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदार १८ निर्धारण गरिएको छ । यही मतभारका आधारमा प्रदेश १ मा गठबन्धनभन्दा एमाले अगाडि देखिन्छ । प्रदेश १ मा अपांगता भएका वा अल्पसंख्यक समुदायका १, महिला १ र अन्य समूहबाट प्रतिनिधित्व गरेका राष्ट्रिय सभाका एक सदस्यको पद रिक्त हुँदै छ । अल्पसंख्यकमा यसअघि निर्वाचित अगमप्रसाद बान्तवा राईको चारवर्षे कार्यकाल सकिँदै छ । त्यस्तै, महिलामा नैनकला ओझा र अन्य समूहबाट परशुराम मेघी गुरुङको कार्यकाल सकिँदै छ ।

प्रदेश २ मा महिला समूहबाट शशिकला दाहाल र अन्य समूहबाट सुमनराज प्याकुरेलको कार्यकाल सकिँदै छ । प्याकुरेल यसअघि एमाले कोटाबाट निर्वाचित भएका थिए । यहाँ सत्ता गठबन्धन बलियो देखिएको छ । प्रदेश २ को मतदाता संख्याका आधारमा मतभार विश्लेषण गर्दा गठबन्धनको मतभार ७ हजार १ सय ४६ देखिन्छ भने एमालेको मतभार ९ सय ४२ मात्रै छ । समाजवादी लोकतान्त्रिकसहित साना दलको मतभार १ हजार ८ सय छ ।

त्यस्तै वाग्मती प्रदेशमा महिला समूहबाट उदया शर्मा पौडेल र अन्य समूहबाट राधेश्याम अधिकारीको कार्यकाल फागुन २० मा सकिँदै छ । यहाँ पनि एमाले कमजोर देखिन्छ । वाग्मतीमा ९ हजार ५ सय १६ मतभारमध्ये गठबन्धनको ४ हजार ९ सय ५६ र एमालेको ४ हजार १ सय ५२ मतभार छ । राप्रपा, नेमकिपा र विवेकशीलको मतभार चार सय आठ छ । यसले के देखाउँछ भने एमाले र अरू साना दल मिल्दा पनि गठबन्धनको जति मत पुग्दैन । गठबन्धन कायमै रहे एमालेले जित्ने सम्भावना देखिँदैन ।

गण्डकी प्रदेशमा दलित समूहबाट खिमकुमार विक, अन्य समूहबाट दीनानाथ शर्मा र महिला समूहबाट शान्तिकुमारी अधिकारीको ठाउँमा निर्वाचन हुन लागेको हो । गण्डकीमा पनि एमाले कमजोर देखिएको छ । साना दल र एमाले मिल्दा पनि एमालेका उम्मेदवारले जित्ने सम्भावना न्यून छ किनभने गण्डकीमा गठबन्धनको मतभार २ हजार ९ सयभन्दा बढी छ भने एमालेको २ हजार ३ सय ९४ छ । साना दलको मतभार ५ सय १० छ ।

लुम्बिनी प्रदेशमा महिला समूहबाट कोमल वली, अन्य समूहबाट दृगनारायण पाण्डेय र दलित समूहबाट रामलखन चमारको पदमा निर्वाचन हुनेछ । लुम्बिनीमा गठबन्धनको मतभार ४ हजार १ सय १० छ भने एमालेको ३ हजार ३ सय २३ छ । साना दलको ४ सय ८ मतभार छ । कर्णालीमा महिला समूहबाट कविता बोगटी र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहबाट माओवादीका जीवन बुढाको पदमा निर्वाचन हुनेछ । कर्णालीमा पनि गठबन्धन बलियो छ । गठबन्धनको २ हजार ५ सयभन्दा बढी मतभार छ भने एमालेको १ हजार ४ सय ३४ मात्रै छ । अरू दलको मतभार ५ सय ८८ छ ।

सुदूरपश्चिममा दलित समूहबाट चक्रप्रसाद स्नेही, महिला समूहबाट तारादेवी भट्ट, अन्य समूहबाट शेरबहादुर कुँवरको ठाउँमा निर्वाचन हुन लागेको हो । यहाँ गठबन्धनको मतभार ३ हजार ७ सय ५५ र एमालेको १ हजार ७ सय ८८ छ । अन्य दलको मतभार १ सय ३२ छ ।

अहिले निर्वाचित सदस्यको कार्यकाल ६ वर्ष हुनेछ । राष्ट्रिय सभा सदस्य एवं कांग्रेस नेता अधिकारीले अबको निर्वाचनमा गठबन्धन मिल्दा एमाले पहिलो पार्टी नरहने बताए । ‘गठबन्धन मिल्दा राष्ट्रिय सभामा एमालेको अंकगणित तल झर्न सक्छ,’ उनले भने, ‘मतभार हेर्दा प्रदेश १ मा पनि एमाले टाइट छ, अरू प्रदेश त धेरै तल छ । निर्वाचनपछि माओवादी अघि बढ्ने देखिन्छ ।’कान्तिपुर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu