बाटाघाटा हेर्नलाई नारायणी किनारमा ठूलो मेला लाग्यो: दाहाल
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताउनु भएको छ । शनिबार बिहान भरतपुर महानगरपालिका(२६ दिव्यनगरमा आयोजित राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबैको रोजाइमा पर्नु चितवनवासीका लागि खुसीको कुरा भएको बताउनु भएको हो ।
दाहालले देशलाई एकताबद्ध गर्ने तथा जनता र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्रै भएको पनि दाबी गर्नु भयो । उहाँले भन्नु भयो देशलाई एकताबद्ध गर्ने, सबै जनता, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्र भएको जनचेतना एकपटक देशभर फैलिएको छ । जनताले अब फेरि माओवादीबाहेक अरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्दैनन् भन्ने बुझ्याछन् । त्यस्तै उहाँले सबै जनताले माओवादी पार्टी बलियो भए मात्रै देश र जनता बलियो हुन्छन् भन्ने बुझेको पनि बताउनु भयो ।
महाधिवेशनका लागि सबैको नजरमा परेको उल्लेख गर्दै दाहालले भन्नु भयो कोही लोभले, कोही डाहले, कोही मायाले, कोही केले, कोही केले सबै चितवन नै आउन चाहने भए आजभोलि । अस्ति भर्खर ठूलो मेला लाग्यो नि नारायणी नदी किनारमा । चितवनलाई माया गरेर त होला त्यत्रो मेला लाग्यो यहाँका बाटाघाटा कस्ता रहेछन् भनेर हेर्न पनि होला ।
त्यस्तै उहाँले आफूलाई माया वा घृणा गरेर जे भए पनि चितवन आउनु खुसीको कुरा भएको बताउनु भयो अनि प्रचण्डलाई र रेणुलाई जिताउने जनता कस्ता रहेछन् भनेर हेर्न पनि होला । यहाँको नारायणी, राप्ती, रिउ देवघाट मौलाकालिकाजस्ता पर्यटकीय र धार्मिक स्थल हेर्न पनि होला । प्रचण्डलाई माया गरेर वा घृणा गरेर जे भए पनि चितवन आए तपाईंहामी चितवनवासीलाई खुसीकै कुरा हो । मैले भनेको छु अरु पनि चितवन नै आए हुन्छ । अब अधिवेशन गर्न पर्यो भने अन्त हेर्न परेन चितवन नै आए हुन्छ । जे भए पनि यहाँका जनतालाई त्यसबाट फाइदा नै हुन्छ ।त्यसैगरी भरतपुरमा सिबीच डलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनु भयो । यस्तो विकासले समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।
नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिंगापुरको सन्तोसा आइल्यान्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उहाँको भनाइ थियो । विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ । शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् । देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताउनु भयो ।