भारतले अफगानिस्तानलाई ५० हजार टन गहुँ पठाउने
एजेन्सी— भारतले अफगानिस्तानी जनताका लागि ५० हजार टन गहुँ पठाउने तयारी गरेको छ । तालिवानले सत्ता कब्जा गरेपछि विदेशी सहायताहरू रोकिएको अवस्थामा भारतले मानवताको दृष्टिकोण राख्दै खाद्यान्न तथा औषधि पठाउने प्रस्ताव केही अगाडि नै गरेको थियो ।
ठूलो परिणामको खाद्यान्न पठाउन स्थलमार्ग प्रयोग गर्न भारतले पाकिस्तानसँग अनुमति मागेको थियो । अक्टोबर ७ मा भारतले अफगानिस्तानसम्म गहुँ पुर्याउन स्थलमार्ग उपलब्ध गराइदिन भन्दै पाकिस्तानलाई पत्र पठाएको थियो । पाकिस्तानले शुक्रबार पाकिस्तानको भूमिमा अफगानी ट्रकबाट गहुँ लैजान सकिने जवाफ भारतलाई पठाएको छ ।
तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएयता भारतले काबुलबाट आफ्नो दूतावास उठाइसकेको छ । अफगानिस्तानमा तालिवानको पुनरागमनले भारतमा आतंककारी गतिविधि बढ्न सक्ने संशय भारतलाई छ । तर यी सबका बाबजुद भारत तालिवानसँग ‘इङ्गेज’ हुन चाहेको देखिन्छ । वैदेशिक मामिलामा दखल राख्ने द इन्डियन एक्सप्रेसका एसोसिएट सम्पादक शुभजित रोय गहुँ पठाउने भारतीय तयारीले भारत सरकार अफगानी जनताको साथमा रहेको सन्देश दिएको बताउँछन् । गहुँ पठाउने विषयले नै भारत र तालिवानी अथोरिटीबीच नयाँ कूटनीतिक सम्बन्ध स्थापित भइनहाल्ने उहाँको टिप्पणी छ ।
तालिवानलाई अझै विश्वको फोरमले मान्यता दिएको स्थिति छैन । यद्यपि भारतले दिन खोजेको सहयोगलाई तालिवानी अथोरिटीले सकारात्मक मानेका छन् । त्यसका लागि उनीहरूले स्थलमार्ग उपलब्ध गराउन पाकिस्तान सरकारसँग पनि ‘लबिइङ’ गरेका थिए । भारत र तालिवानबीच औपचारिक कूटनीतिक सम्बन्ध कायम नरहेको अवस्थामा भारतले पठाउने गहुँ कसलाई हस्तान्तरण गर्ने र त्यसको वितरण कसरी हुने आफैंमा पेचिलो छ ।
५० हजार टन गहुँ ढुवानीका लागि ५ हजार ट्रक आवश्यक पर्ने अनुमान छ । भारतले अफगानी ट्रकलाई मात्रै आफ्नो भूमिमा अनुमति दिएकाले पञ्जाबको बागहा अटारी भारत पाकिस्तान सीमामा भारतीय ट्रकबाट अनलोड गरेर अफगानी ट्रकमा लोड गर्नुपर्ने हुन्छ ।