१० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका नेताको २० वर्षपछि काजकिरिया
गाेरखा – तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका एक नेताको २० वर्षपछि काजकिरिया गरिएको छ । गोरखाको साविक ताक्लुङ गाविस चालिसे घर भएका श्रीराम खनाल ‘सन्देश’ को २० वर्षपछि आज मङ्गलवार काजकिरिया गरिएको हो । अहिले चितवनमा बसोबास गर्ने खनालका परिवारले हिन्दू संस्कार अनुसार दाहसंस्कारको प्रक्रिया पूरा गरी काजकिरिया सुरु गरेको हो ।
‘देवघाटमा मृतकको स्वरूप बनाएर दाह संस्कार गरिएको छ, माइलो दाइ ईश्वरीप्रसाद खनाल १३ दिनको काजकिरियामा बस्नुभएको छ, हिन्दू संस्कार अनुसारको सबै काम गर्छाैँ’, मृतकका भाइ हरिश्चन्द्र खनालले भन्नुभयो, ‘बुबाआमालाई पनि संस्कार हुन सकेन भन्ने मनमा लागिरहन्थ्यो, त्यहीबीचमा बुबा बित्नुभयो, ८४ वर्षको आमाको पनि इच्छा थियो, धार्मिक रूपमा पनि सल्लाह गरिरहेका थियौँ, अहिले मौका मिल्यो ।’
तत्कालीन नेकपा माओवादी केन्द्रको तनहुँ जिल्ला कमिटी सदस्य रहनुभएका खनालको २०५८ साल माघ २२ गते सुरक्षा कारबाहीमा ज्यान गएकाे थियो । ‘पार्टी बैठकको क्रममा तनहुँकाे साविक छाङ गाविसको साउनेपानी भन्ने ठाउँकाे एउटा घरमा बैठक गरिरहेका बेला नेपाली सेनाको आक्रमणमा मारिनुभएको रहेछ’, मृतकका भाइ खनालले भन्नुभयो, ‘यता गोरखामा रहेकाे घरमा सुरक्षाकर्मीले निरन्तर गस्ती र निगरानी गरिरहेको हुन्थ्यो, त्यतिबेला काजकिरिया गर्नु त परको कुरा, मृतक हाम्रो परिवारको मान्छे हो भन्न सक्ने अवस्था पनि थिएन ।’ काजकिरिया गर्दा थप अप्ठ्यारो हुने भएपछि त्यतिबेला अन्तिम संस्कारका रूपमा केही पनि गर्न नसकिएको खनालले उहाँले बताउनुभयो ।२०३२ साल भदौ २ गते जन्मिनुभएका मृतक श्रीराम खनाल गोरखा क्याम्पसमा अध्ययनका क्रममा भूमिगत हुनुभएकाे थियाे । खनाल शहीदको सूचीमा हुनुहुन्छ ।