नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारी पक्राउ
काठमाडौं- नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीर रिपोर्टसहित पक्राउ गरेको हो।
दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ स्वाबको नमूना समेत नलिइ नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको पाइएको छ।
प्रहरीका अनुसार बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइ दिने भनि प्रति व्यक्तिबाट १० हजारसम्म असुलन गरेको भेटिएको छ।
नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा मंगलबार बिहान १०: ३० बजेतिर नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशन कुमार छिट्टानलाई एयरपोर्टबाट र अर्का कर्मचारी हस्पिटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्र कुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो। त्यस्तै सोही अस्पतालका ल्यावका कर्मचारी माधव मैनालीलाई पनि ४ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ गरेको हो।
राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्युटरलगायतका उपकर र पीसीआर टेस्ट दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको छ।
दुवै ल्याबका सञ्चालक भावेश मित्र र निर्मल गरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास भइरहेको छ। साथै दुवै अस्पतालका पीसीआर ल्याब सिल गरी पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुवै अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको अनुसन्धानबाट खुलेको छ। यस्तै उक्त ल्याबहरु कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरि रिपोर्ट दिने गरेको पाइएको छ।
कतिपय पीसीआर पोजेटिभ देखिएका स्याम्पलहरुको सीटी भ्यालु तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पीसीआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको प्रहरीले अनुसन्धानले देखाएको छ।
यस्तै दुवै अस्पतालले केही बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाइ दिइ सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको पाइएको छ। सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले स्वाब संकलन गरी विभिन्न व्यक्तिहरुका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत खुल्न आएको छ।